नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनमार्फत रुपान्तरणको थालनी गर्नुपर्ने बताएका छन्।
बाराको कलैया र पर्साको बीरगन्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टिभित्र युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन्।
उनले पार्टीको आगामी महाधिवेशनबाटै ३० वर्ष मुनिका युवाहरू केन्द्रीय समितिमा समेटिने गरी विधान संशोधन गर्नुपर्ने बताएका हुन्। यसलाई उनले ‘३० मुनिका ३०’ अवधारणा भनेका छन्।
‘हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० मुनिको निश्चित संख्या तोकौं। उनीहरू मात्रै मतदाता र उम्मेदवार रहने गरी ‘३० मुनिका ३०’ लाई केन्द्रीय समितिमा निर्वाचित गर्ने व्यवस्था गरौं,’ महामन्त्री शर्माले भने।
शर्माले विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रमा सहभागिता सुनिश्चित गर्न प्रत्येक महादेशबाट एक/एक जना तथा मध्यपूर्वबाट अलग्गै एक जनालाई केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे।
उनले देश, लोकतन्त्र र पार्टी नै खतरा परेको बताउँदै पार्टीभित्रको गुटबन्दी रोक्नुपर्ने बताए।
‘देश, लोकतन्त्र र पार्टी खतरामा परेको बेला भोलि कसैले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने उत्तर दिनु पर्ने अवस्था आउनु हुँदैन। गुटको उँटबाट ओर्लेर विवेकको सिँढी उक्लिनुस्, रुपान्तरणको सोच र संकल्प ल्याउनुस्, जेनजी आन्दोलनले खोजेको परिवर्तन हामीबाट सुरु गरौं,’ उनले भने।
महामन्त्री शर्मा बारा र पर्सा जिल्लामा हालै भएका तोडफोड र आगजनीको अवस्थाको अवलोकनका लागि शुक्रबार बिहान रौतहट हुँदै कलैया र बिरगंज पुगेका थिए।