नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन मंगलबार केन्द्रीय कार्यालय पुगेका महाधिवेशन प्रतिनिधिहरू फर्केका छन्।
महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार अपराह्न ३ बजेका लागि हस्ताक्षर बुझाउने समय दिइएको छ।
आज हस्ताक्षर बुझाउन नपाएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरू पार्टी पदाधिकारीहरूसँग असन्तुष्ट भएका थिए।
महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर लिएर आएपछि कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारीबीच अनौपचारिक कुराकानी भएको थियो।
त्यसपछि बुधबार अपराह्न ३ बजे हस्ताक्षर बुझाउन समय दिइएको हो।
सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समिति बैठकमा उपसभापति खड्कालाई कार्यवाहक दिँदै आफू अब सक्रिय राजनीति नगर्ने संकेत गरेका थिए।
‘सभापतिज्यूले आज कार्यवाहक सभापति तोकेर अब सक्रिय नरहनेखालको संकेत गर्नुभएकोले उहाँको सम्मानमा आज पार्टी कार्यालयमा अरू कुनै पनि गतिविधि नगर्ने कुरा भयो,’ एक नेताले भने, ‘त्यसैले विशेष महाधिवेशन हस्ताक्षर बुझाउने समय भोलि अपराह्न ३ बजेका लागि तोकिएको छ।’
महामन्त्री गगन थापाले विशेष महाधिवेशन माग गर्न गरिएका हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइने कुरा महाधिवेशन प्रतिनिधिहरूलाई जानकारी गराएका थिए।
कांग्रेसमा सकेसम्म मंसिरभित्रै १५ औं महाधिवेशन गर्नेबारे छलफल चलिरहेको छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका पनि आउने नेताहरूले बताइरहेका छन्।
यो पनि:
नेतृत्वबाट बहिर्गमन, नियमित महाधिवेशन र चुनावको मुद्दामा यसरी आए देउवा