प्रधानमन्त्री सुशीला कार्कीले पोखराका आन्दोलनरत नर्सहरूको माग तत्काल समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएकी छन्।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव डा. विकास देवकोटा सहितको टोलीसँग बिहीबार छलफल गरी उक्त निर्देशन दिएकी हुन्।
स्वास्थ्यकर्मी २४ घण्टा खटिने र अत्यावश्यक सेवा भएकाले तत्काल नर्सको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्।
मन्त्रालयका सचिव डा. देवकोटाले मन्त्रालयका अवस्था र समस्याहरूका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए।
पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू न्यूनतम तलब माग गर्दै आन्दोलनमा उत्रिएको विषय सचिव देवकोटाले प्रस्तुत गरेका थिए।
ब्रिफिङका क्रममा डा. देवकोटाले सबै प्रतिष्ठान, सरकारी अस्पताल, सबै मेडिकल कलेज, सबै सामुदायिक र निजी अस्पताललाई असोज २४ गते पत्राचार गर्दै ५ बुँदे निर्देशन दिएको उल्लेख गरेका थिए।
उक्त निर्देशनमा २०८१ मंसिर २७ गते मन्त्रालयले गरेको निर्णय अनुसार स्वास्थ्यकर्मीको सुविधा कार्यान्वयन नभए तत्काल कार्यान्वयन गर्न ५ बुँदे निर्देशन दिएको थियो।
मन्त्रालयले दिएको निर्देशनमा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा सबै स्वास्थ्यकर्मीको न्यूनतम तलब तथा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्नुपर्ने, तोकिएको समयभन्दा बढी काम लगाउँदा अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा शौक्षिक संस्थाले ज्यालादारीमा कार्य गराउन नपाउने, नियुक्तिपत्र दिनुपर्ने, स्वास्थ्यकर्मीलाई अनुभव पत्र प्रदान गर्नुपर्ने र बैंकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी दिनुपर्ने उल्लेख छ।
मन्त्रालयको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री कार्कीले स्वास्थ्यकर्मीलाई तलब सुविधा दिँदा जीवन निर्वाह हुने गरी सरकारले तोके बमोजिम दिनुपर्ने बताएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
‘नर्सलाई सरकारी सरह तलब सुविधा दिन सकियो भने विदेश पलायन रोकिन्थ्यो। यसमा हामी सबै गम्भीर हुनुपर्छ। जसले गरेको पनि स्वास्थ्यकर्मीले जीवन निर्वाह हुने गरी तलब सुविधा त पाउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै प्रवक्ता बुढाथोकीले भने।
प्रधानमन्त्री कार्कीले अन्य निजामती सेवाका कर्मचारीभन्दा स्वास्थ्यकर्मीको जिम्मेवारी धेरै र संवेदनशील हुने कुरा पनि चर्चा गरेकी थिइन्।
‘निजामती कर्मचारीले बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म मात्र काम गर्छन्, स्वास्थ्यकर्मी २४ घण्टा खटिनुपर्ने हुन्छ,’ उनले भनेकी थिइन्, ‘निद मारेर बिरामीको सेवामा खटिनुहुन्छ, निद्राको त मूल्य छैन नि।’
मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार स्वास्थ्यकर्मीले पाउने सुविधा सरकारले तोके अनुसार हुनैपर्ने र उनीहरूको मनोबल उच्च हुने गरी राज्यले सेवा सुविधा दिनुपर्ने बताएकी थिइन्।
निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूले सरकारले तोकेअनुसार नर्स तथा स्वास्थ्यकर्मीको सेवा सुविधा दिन नसक्ने भनिरहेका बेला मन्त्रालयले यसअघि नै गरिसकेको निर्णय लागु गर्नुको विकल्प नभएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले निर्णय गर्दा निजी मेडिकल सञ्चालकहरू कुनै पनि छलफल र वार्तामा नआएको भन्दै प्रवक्ता बुढाथोकीले देशको संविधान, कानुन र सरकारको नीति तथा निर्देशन निजी स्वास्थ्य संस्था संचालकले मान्नुपर्ने बताए।
‘मन्त्रालयले निर्णय गरिसकेको छ, यसमा थप निर्णय आवश्यक छैन,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘कुनै असहमति छ भने छलफल गर्न आउनु, तर निर्णय फेरिँदैन।’
पोखराको मणिपाल अस्पताल र गण्डकी अस्पतालका नर्सहरू आन्दोलनमा उत्रिएको विषय नर्सिङ संघले एक साताअघि निवेदनमार्फत जानकारी दिएको भन्दै उनले सोही निवेदनका आधारमा निजी स्वास्थ्य संस्थाहरूलाई ५ बुँदे निर्देशन पठाएको बताए।
प्रवक्ता बुढाथोकीले गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कास्कीको सिडिओ कार्यालयमार्फत पनि समस्या समाधानको पहल भइरहेको उनले बताए।
कास्कीकी सिडिओ रुद्रादेवी शर्माले नर्स आन्दोलन समाधान गर्न वार्ता र छलफल भइरहेको बताइन्।
प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि यस विषयमा वार्ता गरिरहेको भन्दै उनले स्वास्थ्य मन्त्रालय आफ्नो निर्णयबाट पछाडि नहट्ने पनि बताइन्।
‘नर्सलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भन्ने मन्त्रालयको निर्णय प्रष्टै छ,’ उनले भनिन्, ‘छिटो समस्या समाधान गर्न हामीले पहल गरिराखेका छौं।’
निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्था सञ्चालकहरू भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अझै तयार छैनन्।
उनीहरू श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ मात्र दिन तयार छन्। नर्सहरू भने श्रम ऐन अनुसार नभई स्वास्थ्य ऐन र स्वास्थ्य मन्त्रालयले तोकेको न्यूनतम पाँचौं तहको तलब सुविधा मासिक ३५ हजार रुपैयाँ माग गरिरहेका छन्।
नर्स आन्दोलनका कारण देखाएर मणिपाल र गण्डकी मेडिकल कलेजले बिरामी भर्ना नलिँदा बिरामीहरू भने मर्कामा परेका छन्।
यो पनि:
महँगो अस्पताल, सस्तो नर्स!