अमेरिकाले युक्रेनलाई तत्कालै लामो दूरीमा मार हान्न सक्ने तोमहक क्रुज मिसाइल नबेच्ने भएको छ।
शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको प्रतिनिधिमण्डल स्तरीय छलफलमा तोमहक मिसाइलबारे निर्णय नभएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
ट्रम्पले अमेरिका युद्ध बढाउन नचाहने बताउँदै तोमहक मिसाइल तत्काल युक्रेनलाई नदिने भनेका हुन्।
‘हामीले लामो दूरीका हतियारबारे कुरा गर्यौं, तर यस विषयमा सार्वजनिक रूपमा केही नबोल्ने निर्णय गर्यौं, किनकि अमेरिका युद्धको स्तर बढाउने पक्षमा छैन,’ भेटवार्तापछि जेलेन्स्कीले भने।
यसपालिको छलफलबाट अमेरिकाबाट कुनै पनि ठूला सैन्य प्रतिबद्धता बिनै जेलेन्स्की फर्किएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
विशेषगरी तोमहक मिसाइल लगायत अन्य सैन्य सहायतका लागि कुरा गर्न जेलेन्स्की ह्वाइट हाउस गएका हुन्। रुसले युक्रेनमा आक्रमण तीव्र पारेपछि ट्रम्पले पनि युक्रेनलाई शक्तिशाली हतियार दिने भनेर पुटिनलाई धम्की दिएका थिए।
त्यसकारण पनि शुक्रबारको वार्ताबाट तोमहक मिसाइलबारे सम्झौता हुने विषयमा जेलेन्स्की सकारात्मक थिए यद्यपि उनी रित्तो हात फर्किएको भनेर सिएनएनले लेखेको छ।
ट्रम्पले तोमहक मिसाइल दिँदा युद्ध रोकिने वातावरण बन्नुभन्दा युद्ध थप चर्किन सक्ने बताएका थिए।
अमेरिकाले मिसाइल दिएको खण्डमा रूसको प्रमुख ऊर्जा क्षेत्रमा आक्रमण गरी अर्थतन्त्र धराशयी बनाउने र यसैबाट रूसलाई शान्तिमा आउन बाध्य पार्न सकिने युक्रेनी पक्षको धारणा थियो।
ट्रम्पले तोमहकबिनै युद्ध अन्त्य गर्न सकिने बताए।
‘त्यो हतियारको डर नै पर्याप्त छ। तर त्यो डर सधैं रहन्छ,’ उनले भने, ‘आशा छ, तिनीहरूलाई त्यो आवश्यक नपरोस्। हामी यो युद्ध टमहकको प्रयोगबिनै अन्त्य गर्न सकौं भन्ने चाहन्छौं। यो एउटा ठूलो हतियार हो र अमेरिकालाई पनि यसको आवश्यकता छ।’
जेलिन्स्कीले मिसाइल साटामा ड्रोन प्रस्ताव गर्न सकिने उल्लेख गर्दा ट्रम्पले मुस्कुराउँदै टाउको हल्लाएको भनेर बिबिसीले लेखेको छ।
भेटमा जेलिन्स्कीले ट्रम्पको मध्यपूर्वीय शान्ति प्रक्रियामा सफल भूमिकाको प्रशंसा गर्दै त्यो शान्ति प्रयासले अब युरोपमा पनि सकारात्मक प्रभाव पार्न सक्ने बताएका थिए।
ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीसँग भेटवार्ता गर्नुअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए।
टेलिफोन वार्ताका क्रममा पुटिनले ट्रम्पलाई अमेरिकी हतियार युक्रेनलाई नबेच्न सुझाव दिएका थिए।
अमेरिकाले हतियार दिए शान्ति प्रक्रियाका लागि अहिलेसम्म भएका कुरा र भइरहेका प्रयास निरर्थक हुने पुटिनले बताएका थिए।
शुक्रबार जेलेन्स्कीसँगको भेटपछि पत्रकारहरूले ट्रम्पलाई पुटिनसँगको टेलिफोन संवादबारे पनि प्रश्न गरेका थिए। पत्रकारहरूले पुटिन साँच्चै शान्तिका लागि तयार छन् कि समयमात्रै ब्यतित गरिरहेका छन् भनेर प्रश्न गरेका थिए।
‘म निश्चित छैन। तर युक्रेनले तोमहक पाउने सम्भावनाले रूस डराएको छ, किनकि त्यो शक्तिशाली हतियार हो,’ जबाफमा ट्रम्पले भनेका थिए।
यद्यपि युक्रेनलाई हतियार दिने सम्बन्धमा छलफल जारी राख्ने कुरा भएको भनेर सिएनएनले लेखेको छ।
ट्रम्प र पुटिनबीच दुई हप्ताभित्रै हंगेरीको बुडापेस्टमा भेटवार्ता हुने तय भइसकेको छ। त्यसकारण पनि ट्रम्पले तत्काल युक्रेनलाई हतियार दिने निर्णय नगरेको आकलन गर्न सकिन्छ।
कति शक्तिशाली छ तोमहक मिसाइल?
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार लामो दूरी, उच्च परिशुद्धता र सतहनजिकै उड्ने क्षमताका कारण तोमहक आज पनि अमेरिकाको सबैभन्दा भरोसायोग्य हतियारमध्येको एक मानिन्छ।
तोमहक क्रुज मिसाइल पहिलोपटक सन् १९९१ को पर्सियन गल्फ युद्धमा प्रयोग गरिएको थियो। त्यसयता इराक, सिरिया, अफगानिस्तानदेखि यमनसम्मका विभिन्न अमेरिकी सैन्य अभियानमा यसको प्रयोग हुँदै आएको छ। तोमहक सन् १९७० दशकमै विकास सुरु भएको पुरानो तर अझै अत्याधुनिक प्रविधि भएको मिसाइल हो।
यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ। यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो।
यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ।
त्यसैले यो आक्रमणको समयमा अत्यन्त गुप्त र घातक ठहरिन्छ। युक्रेनबाट रूसको राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्ग ५०० माइलभन्दा नजिक रहेकाले पनि तोमहकको प्रयोग गरेर युक्रेनले रूसमा आक्रमण गरी त्यहाँ ठूलो क्षति पुर्याउन सक्छ भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
तोमहक सामान्यतया समुद्री जहाज वा पनडुब्बीबाट प्रक्षेपण गरिन्छ। सुरुमा ठोस इन्धनले चल्ने बुस्टर मोटरले मिसाइललाई करिब १५ सय फिट माथि उठाउँछ। सानो जेट इन्जिनले त्यसलाई विमानझैँ उडाउँछ। एक पटक लक्ष्यको दिशा सेट गरेपछि मिसाइलले आफैं भू–नक्शा र जिपिएस संकेतको आधारमा बाटो खोज्दै लक्ष्यमा पुग्छ।
यसको नयाँ संस्करणमा त उडानकै क्रममा पनि नयाँ आदेश दिएर लक्ष्य परिवर्तन गर्न सक्छ भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
अहिले अमेरिकी सेनाले जमिनबाटै यस्ता मिसाइल प्रक्षेपण गर्न सक्ने ‘टाइफुन’ नामक प्रणाली विकास गरेको छ। सन् २०२४ मा पहिलोपटक यस्तो लन्चरबाट तोमहक परीक्षण गरिएको थियो। यही प्रणाली मार्फत युक्रेनले पनि तोमहक चलाउन सक्ने आँकलन गरिएको छ।
तोमहकमा साधारणतया करिब ४०० पाउन्ड टिएनटी बराबरको विस्फोटक वारहेड हुन्छ। यसले ठूला भवन, सैन्य केन्द्र वा कमाण्ड पोस्ट नष्ट गर्न सक्छ। केही संस्करणहरूमा स–साना बम (क्लस्टर बम) रहने गर्छन्, जसले ठूलो क्षेत्रभर क्षति पुर्याउन सक्छ। अर्को संस्करणले विद्युत् सञ्जालमा कार्बन फाइबर छरेर अस्थायी रूपमा बिजुली आपूर्ति बन्द गराउने क्षमता पनि राख्छ भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
अमेरिकी रक्षा बजेट अनुसार एउटा तोमहक मिसाइलको मूल्य ८ लाखदेखि २० लाख अमेरिकी डलरसम्म पर्छ। यति महँगो मिसाइल हरेक आक्रमणमा प्रयोग गर्न सजिलो हुँदैन। त्यसैले यसको प्रयोग प्रायः रणनीतिक वा उच्च–महत्त्वका लक्ष्यहरूमा मात्रै हुन्छ।
अमेरिकासँग अहिले हजारौं तोमहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ। त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन। त्यसबाहेक, यस्तो हतियार पाउँदा रुसले कसरी प्रतिक्रिया दिन्छ भन्ने विषय पनि कूटनीतिक रूपमा संवेदनशील छ।