राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने चुनावका लागि वाचा पत्रको प्रारम्भिक खाका तयार पारेको छ।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले शनिबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा रास्वपाले वाचा पत्रको प्रारम्भिक खाका बनाइसकेको जानकारी दिएका हुन्।
'वाचापत्रको प्रारम्भिक खाका तयार भएको छ। यसलाई परिस्कृत गर्दै अगाडि लैजान्छौं,' उनले भने।
उनले वाचा पत्रमा ६ वटा खण्डमा रास्वपाले जनतालाई भन्ने विषय उल्लेख गरेको जानकारी दिए।
उनकाअनुसार पहिलो खण्डमा अर्थ-राजनीतिक प्रस्तावना उल्लेख हुनेछ जसलाई जलेश्वर प्रस्तावना पनि भनिएको छ।
'त्यसपछि २०७९ देखि २०८२ सम्म हाम्रो राजनीतिक यात्रा: निषेधदेखि विस्फोटसम्म भन्ने एउटा विश्लेषण हुन्छ। त्यसमा हाम्रा आरोह-अवरोहदेखि अनुभव र सिकाइहरू, हामीले गरेका सफलता र हामी चुकेका ठाउँबीच एउटा इमानदार विश्लेषण आउँछ,' उनले भने।
तेस्रो खण्डमा रास्वपा किन र यसलाई फागुनमा किन भोट दिने भन्ने विषयमा पाँचवटा तर्क उल्लेख रहनेछ।
'यसमा सुशासनको संवाहकका रूपमा, युवापुस्ता, नवयुवा पुस्ताको प्रतिनिधिको रूपमा हामीले आफूलाई पेस गर्ने गरेका छौं। सामाजिक सौहार्दता, समावेशीताप्रतिको हाम्रो प्रतिबद्धता, प्रवासको मुद्दाहरूको सारथी बन्नसक्ने लगायतका विषय उल्लेख हुनेछ,' उपसभापति वाग्लेले भने।
मूल कुरा देशलाई कति चाँडै धनी बनाउन सकिन्छ भन्न कुरा वाचापत्रमा उल्लेख रहेको उनको भनाइ छ।
'आर्थिक उन्नतिका विषयमा नयाँ विचार पनि रास्वपाले ल्याउँछ र त्यो विचारहरूलाई बोक्ने नयाँ पात्र पनि रास्वपाले मैदानमा ल्याउँछ,' उनले भने।
त्यसपछि मूल खण्डमा मुलुक अहिले कहाँ छ, निश्चित समयपछि कहाँ पुग्ने र कसरी पुग्छ भन्ने दिशानिर्देश गर्ने उनले बताए।
'सुरूवातमा दसवटा झलकहरू प्रस्तुत हुनेछ। अहिलेको अर्थ राजनीति, सामाजिक, विश्वमा हाम्रो स्थिति, डायस्पोरा, सौम्य शक्ति लगायत समेटेर १० वटा झलक भनेका छौं,' उनले भने।
त्यसमा वि.स. २१०० सम्म नेपाल कहाँ पुग्छ भन्न गन्तव्यसमेत प्रस्तुत हुने उपसभापति वाग्लेले बताए।
' नेपाली जनताले त्यो पढेपछि हामी यहाँ रहेछौं। अर्को दुई चार वर्षमा यहाँ पुग्छौं र २१०० शताब्दी टुंगिदै गर्दा रास्वपाले देश हाँक्न पायो भने यहाँ पुर्याउँछ भन्ने विश्वासिलो आधार तयार पार्छौं,' उनले भने।
साथै न्याय, अर्थ, लोककल्याण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत निर्माण, ऊर्जा, यातायात, सहरीकरण, अस्तित्वका विषयमा हामीले सबै मन्त्रालयलाई क्लस्टरिङ गरेर १५ मा झार्ने प्रतिबद्धता वाचापत्रमा उल्लेख रहेको उनले बताए।
'१५ वटा मन्त्रालयलाई पाँच पाँच वटा खम्बामा विभाजन गरेर अहिले कहाँ छौं र पाँच वर्षमा कहाँ पुग्ने हो भन्ने योजना बनाउँछौं। सबैका लागि खर्च कति लाग्छ र कहाँबाट जुटाउने भन्ने कुरा पनि बताइन्छ। वित्तीय व्यवस्थापनको पाटो कसरी जुटाउने भन्ने कुरा पनि उल्लेख हुन्छ,' उनले भने।
पाँचौंमा सार्वजनिक अपिल र छैटौंमा रास्वपा सरकारमा आएको पाँच दिनभित्र गर्ने ५० वटा निर्णय समेत उल्लेख हुने उनले बताए।
'सबैलाई पुष्टि गर्नका लागि नक्सा तथा तथ्याकंका टेबलहरू समेत हुनेछन्,' उपसभापति वाग्लेले भने।