जनेजी मुभमेन्ट अलायन्सले उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ।
काठमाडौं महानगरले आइतबारदेखि सुकुम्बासी बस्तीका संरचना खाली गर्ने निर्णय गरेको विषयमा अलायन्सले विज्ञप्ती जारी गर्दै स्थानीय सरकारले उत्पीडित नागरिकमाथि दम्भ नदेखाउन भनेको हो।
अलायन्सले काठमाडौं महानगरले सबै पक्षसँग सहमति गरी उपयुक्त व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ।
‘हाम्रो अनुरोध छ, सम्बन्धित समुदायसँगको सहमतीमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौँ महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्। निहत्था, उत्पीडित जनताहरु माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्,’ विज्ञप्तिमा भनिएको छ।
अलायन्सले काठमाडौं महानगर क्षेत्रभित्र रहेको बस्तीबारे अध्ययन गरेको भए सार्वजनिक गर्न पनि आह्वान गरेको छ।
‘नक्कली र सक्कली सुकुम्बासी भनी विभिन्न बहसहरू हुने गरेको पनि पाइन्छ। यसर्थ, काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस्तीहरूको अध्ययन गरेको भए यथार्थ विवरण सार्वजनिक गरी स्पष्ट तथ्यांक समेत उपलब्ध गराउन आह्वान गर्दछौं,’ अलायन्सले भनेको छ।
काठमाडौं महानगरपालिकाले अतिक्रमणमा रहेका सार्वजनिक जग्गामा डोजर चलाउने बताउँदै आएको छ। महानगरपालिकाले १८ सय रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको बताएको छ।
त्यसलाई आइतबारदेखि नै खाली गराउने महानगरको योजना छ। सुरूवात धोबिखोला किनारबाट सुरू गर्ने तयारी छ।
