गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन सफल बनाउनेतर्फ केन्द्रित हुन आह्वान गरेका छन्।
जेनजी आन्दोलन पश्चात सोमबार पहिलो पटक बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले निर्वाचन सफल बनाउने दायित्व प्रदेश सरकार, सांसदहरू, राजनीतिक दल र आम युवाको रहेको भन्दै यसतर्फ कन्द्रित हुन आह्वान गरेका हुन्।
‘अहिले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचन प्रक्रियालाई सफल बनाउनु प्रदेश सरकारको पनि दात्यिव हो। यस कार्यमा सहयोग गर्नुहुन प्रदेश सरकारको तर्फबाट प्रदेश सभाका सदस्यज्यूहरू, राजनीतिक दल, नागरिक समाज, युवाहरू लगायत सबै प्रदेशवासीमा अनुरोध गर्दछु,’ उनले भने।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदेश सभा भवन जलेपछि पहिलो पटक प्रदेश सभा बैठक कृषि मन्त्रालयको सभा हलमा बसेको हो।
मुख्यमन्त्री पाण्डेले उक्त आन्दोलनले राजनीतिक दल र नेतृत्वलाई गहिरो आत्मसमीक्षाको सन्देश दिएको पनि उल्लेख गरेका छन्।
जबाफदेही पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा लैजानुपर्ने भन्दै उनले सामाजिक एकता र सद्भाव बढाउन आग्रह गरे।
जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा भएका क्षतिको विवरण पनि उनले प्रदेश सभालाई जानकारी गराएका छन्।
उनका अनुसार जेनजी आन्दोलनमा गण्डकी प्रदेशमा ३ जनाको ज्यान गएको, आन्दोलनकारी र सुरक्षाकर्मी गरी ७० जनाभन्दा बढी घाइते भएका थिए। प्रदर्शनकारीले गण्डकी प्रदेशका ७ वटा जिल्लामा १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुर्याएको उनले जानकारी गराएका छन्।
गण्डकी प्रदेशमा ३६१ वटा दुई पाङ्ग्रे सवारी साधनमा आगजनी, ७ वटामा तोडफोड र ३ वटा हराएका छन्। यस्तै, १६१ वटा चार पाङ्ग्रे सवारी साधनमा आगलागी भएका छन् भने ३१ वटा सवारी साधनमा तोडफोड भएका छन्।
सरकारी भवन र सवारी साधन गरी २ अर्बको क्षति भएको र निजी क्षेत्रतर्फ करिब ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको पनि मुख्यमन्त्री पाण्डेले प्रदेश सभालाई जानकारी गराएका छन्।
जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचना पुनर्निर्माण गर्न तत्कालका लागि चालु बजेटबाट १ अर्ब ५० करोड रुपैयाँ जोहो गरेको भन्दै मुख्यमन्त्री पाण्डेले तीन चरणमा पुनर्निर्माण गर्ने योजना बनाएको बताए।
सामान्य क्षति भएका संरचना तत्काल पुनर्निर्माण गरेर सेवा सुरू गरिसकेको, रेट्रो फिट गर्नुपर्ने भवन पुनर्निर्माणको चरणमा रहेको र पूर्ण रूपमा क्षति भएको भवन पुनर्निर्माण गर्न आगामी बजेटबाट व्यवस्था गर्ने उनले बताए।
जेनजी आन्दोलन पश्चात प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालयबाट तत्काल प्रवाह हुने सवा नियमित गरिसकेको भन्दै उनले केही सेवाहरू सुरू हुने प्रक्रियामा रहेको पनि जानकारी गराएका छन्।