नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यतालिकाअनुसार अधिवेशनहरू गर्न सकेका छैनन्।
वडादेखि जिल्लासम्मका अधिवेशन कार्यतालिकाअनुसार हुन नसकेको हो।
कार्यतालिकाअनुसार अधिवेशन भएको भए कात्तिक १५ गते ७७ जिल्ला अधिवेशन सकिएको हुन्थ्यो। तर आज कात्तिक १७ गतेसम्म आइपुग्दा जम्मा २६ जिल्ला अधिवेशन भएको छ भने थप ४ जिल्ला अधिवेशन उद्घाटन भई नेतृत्व चयनको प्रक्रियामा छ।
अधिवेशन भएका ठाउँमा सहमतिमै नेतृत्व चयन भएको अवस्था छ।
पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर देउवा पक्षले अधिवेशन सुरूवात गरेका थिए।
वडा अधिवेशन सुरू गर्नुपूर्व ७७ जिल्ला संयोजक तोकिएका थिए।
असोज १५ गते वडा अधिवेशन कार्यतालिका थियो। कतिपय ठाउँमा अहिलेसम्म पनि वडा अधिवेशन सकिएका छैनन्।
नेता प्रकाशशरण महतका अनुसार अधिकांश ठाउँमा भने वडा अधिवेशन तोकिएकै समयभित्र भएको थियो। ७५३ मध्ये ६१८ पालिका अधिवेशन सम्पन्न भएको महतले जानकारी दिए। असोज २० गते पालिका अधिवेशनको कार्यतालिका थियो।
३३० प्रदेश सभा क्षेत्रमध्ये मंगलबारसम्म २२८ प्रदेश सभा क्षेत्र अधिवेशन सकिएको महतले बताए।
‘१६५ मध्ये अहिलेसम्म ११४ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सकिएको छ,’ महतले मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म २६ जिल्ला अधिवेशन भई नेतृत्व चयन भएको छ। ४ जिल्लामा अधिवेशन उद्घाटन भएर नेतृत्व चयन प्रक्रियामा छ।’
कात्तिक १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने कार्यतालिका थियो। तर एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका कतिपय जिल्लामा भने कार्यतालिकाअघि नै अधिवेशन भएका थिए।
नेता महतले छोटो समयको तयारीबीच अधिवेशन गरिएको पनि बताए।
‘छोटो समयमै देशभरका पार्टी कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। विभिन्न तहका अधिवेशन स्थानीय कार्यकर्ताले आफ्नै स्रोतसाधन र स्वेच्छिक सहयोगमा सम्पन्न गरिरहेको अवस्था छ,’ उनले भने।
देउवा पक्षले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ।
फरक प्रसंगमा नेता महतले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गरे। अदालतले आफूहरूलाई न्याय दिने उनले विश्वास गरे।
विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै महतले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको बताएका थिए। अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ।
२०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वले १५ औं महाधिवेशन गर्ने र देउवाले नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ छ।
उनले कांग्रेस आधिकारिकताका विषयमा पछिल्ला दिनमा आएका विवादजस्ता घटनाको गहिरोसँग छानबिन गर्न पनि माग गरेका छन्।
महतले नेपाली कांग्रेसको वैचारिक तथा सांगठनिक पहिचानसमेत विशेष अधिवेशनबाट आएको नेतृत्वले जोगाउन नसकेको बताएका थिए।
बिपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवाद र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको महतले बताए।