नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
सम्पर्क कार्यालय चुनदेवीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सुशासनको प्रतिवद्धतासहित बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र राज्यका विभिन्न संरचनामा अन्योल बढेको आरोप लगाए।
प्रशासनतन्त्र र संवैधानिक निकायको सञ्चालनमा विधि तथा प्रक्रिया पालना नभएको भन्दै उनले सरकारलाई कानूनी शासनको प्रत्याभूति गराउन आग्रह गरेका थिए।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै महतले सञ्चारकर्मीको अभिव्यक्ति र सूचना सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
बिना आधार पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उनको भनाइ छ।
सरकारले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताअनुसार काम नगरेको भन्दै उनले सुशासन, विधिको शासन र नागरिकका सरोकारका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।