जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन्।
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठसँग गुरूङ राजनीतिक संवादमा थिए। तर घिसिङ र श्रेष्ठ भने फरक फरक बाटो हिँड्ने भएका छन्।
दुबैलाई मिलाउन गुरूङ सक्रिय भएर लागेका थिए। तर उनको मध्यस्थता खेर गएको छ।
‘मिलेर जाऊ भनेको टेर्दैनन्। मिलेर जानुस् भनेर मैले ‘मिडिएसन’(मध्यस्थता) गरेको हो,’ गुरूङले भने, ‘केही गरी जेनजीको माग पूरा भएर चुनाव भइहाल्यो भने त्यतिबेला नेपाललाई वैकल्पिक शक्ति चाहिन्छ। मैले राजनीतिक फोर्स बनाउनुहोस् भनेको हो। सबै मिलेर जानु बाहेक अर्को विकल्प छैन।’
उनले आफू भने राजनीतिक पार्टीमा सक्रिय हुनुभन्दा पनि नागरिक दबाब समूह (सिभिलियन फोर्स) बनाउन लाग्ने बताएका छन्। तर उनले सिभिलियन फोर्सको संरचनाबारे खुलेर बोलेनन्।
‘तपाईंहरू मिलेर जानुहोस्। हामी लड्दै गर्छौं भनेको हो,’ सुदन गुरूङले भने, ‘जेनजीको माग पूरा नभएसम्म चुनावमा जानु हुँदैन भन्ने ‘पोलिटिकल फोर्स’ त चाहियो।’
उनले अब नेपालका लागि नयाँ नेतृत्व आवश्यक रहेको र त्यसका लागि पुराना दल र सोचले नहुने बताए। तर कुलमान घिसिङ र सुमना श्रेष्ठ फरक बाटो लागेकोमा सुदनले असन्तुष्टि व्यक्त गरे।
‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भयो,’ सुदनले भने, ‘हामीले सबै जना छुटेर नजानुस्, मिलेर जानुस् भनेका छौँ। हामी जेन–जीको मागलाई संस्थागत गर्न वर्कआउट गरिरहेका छौँ।’
उनले आफू जेनजीको माग पूरा गराउन सिभिलियन फोर्स तयार पार्न लागिरहेको बताए।
‘ठूलो सिभिलियन फोर्स तयार पार्छौं। नागरिकको युनिफिकेसन फोर्स… जुन सरकार आए पनि दबाब दिने,’ गुरूङले भने, ‘जुनै शक्ति आए पनि। अल्टनेटिभ पावर जस्तो वाच डग हुनुपर्ने रहेछ। यो प्यारालल फोर्स रहन्छ।’
उनले राजनीतिक दलमा लागेका व्यक्तिहरूले देशभन्दा पनि दलका बारेमा सोच्न भएकाले यस्तो शक्ति आवश्यक रहेको बताए।
‘जनताले देशको बारेमा सोच्ने रहेछ। पार्टीमा लागेपछि पार्टीबारे मात्र सोच्ने रहेछ,’ गुरूङले भने, ‘म दल खोल्ने, दल मिलाउनेमा लाग्दिनँ। म त पहिलेदेखि नै नन–पोलिटकल मान्छे हो।’
उनले वर्तमान सरकार गठनमा आफ्नो भूमिका रहेको दाबी गर्दै त्यसबेला आफूले जनचाहना अनुसार भूमिका निर्वाह गरेको उल्लेख गरे।
‘त्यतिबेला सैनिक शासन आउँछ भनेर सबै जना डराए। मलाई १८ वटा जेनजी समूहले गएर सेनासँग र राष्ट्रपति भवनमा कुरा गर्न पठाएको हो,’ सुदनले भने, ‘अहिलेको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले दुई दिनसम्म सरकार बनाउन नसकेपछि मलाई डाकेको हो। तर अहिले रंगीचंगी जेनजी आएका छन्।’
गुरूङले जनताले पठाए मात्र आफू अघि बढ्ने बताए।