नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरिया जिम्मेवारीमा फर्किएका छन्। एमालेले घर फर्क अभियान सञ्चालन गरेपछि आफूहरू जिम्मेवारीमा फर्कन सजिलो भएको अध्यक्ष डा. कडरियाले जानकारी दिएका छन्।
जेनजी आन्दोलनका दिन गत भदौ २३ गते डा. कडरियाले पदबाट राजीनामा दिएका थिए। आन्दोलन साम्य भएपछि जिम्मेवारीमा फर्कन खोजे पनि त्यतिबेला अखिलेभित्रै विरोध भएको थियो। असन्तुष्ट पक्षले कडरियाको कार्यकक्षबाट नेमप्लेट हटाउनका साथै जलाइ समेत दिएको थियो।
‘भदौ २३ को आन्दोलनमा ड्रेसमा विद्यार्थी ढलेको देखेर हामी अनेरास्ववियुका थुप्रै साथीहरुले राजीनामा दिएका थियौं र केहीले आफ्नो जिम्मेवारीमा फर्किसकेका पनि थियौं। संकटको समयमा पार्टीको मेरूदण्ड अनेरास्ववियुले पार्टीको साथ छोड्नु त्यति सजिलो थिएन तर ढलिरहेको रगतले हामीलाई मर्माहत बनायो,’ उनले भनेका छन्, ‘भदौ २४ गतेको आन्दोलनमा घुसपैठ भएको विषयले हामीलाई संकटको समयमा संगठनलाई नेतृत्वविहीन बनाउन नहुने भनेर देशैभरिबाट सुझाव आएपछि, सामाजिक संजालबाटै फिर्ता लिएका थियौं,’ उनले भनेका छन्।
अध्यक्ष कडरियाले पार्टी, आन्दोलन संकटापन्न अवस्थामा पुगेकाले अनेरास्ववियु छाडेकाहरूलाई पनि फर्कन आह्वान गरेका छन्। डा. कडरिया गत जेठमा अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए। अनेरास्ववियुबाट यसपटकदेखि ३२ वर्षे उमेरहद लगाइएको थियो। कडरियाले ७ मतले प्रतिस्पर्धी प्रकाश पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए।