नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संविधान रक्षाका लागि पार्टी निर्वाचनमा होमिनुपर्ने बताएका छन्।
सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘अहिले हुने निर्वाचनले नै यो पद्धतीलाई जोगाउनेछ, ताजा जनमतबाट नै हामीले देशमा स्थायित्व तथा जनताको चाहनाअनुसार दीगो समृद्धितर्फ अग्रसर हुन सक्छौं। त्यसैले पार्टी निर्वाचनमा होमिनुपर्छ।’
संविधान रक्षाका लागि पार्टी निर्वाचनमा होमिनुपर्ने उनले बताए। ‘मुलुकको स्थायित्व र संविधान रक्षाका लागि हामी निर्वाचनमा होमिनुपर्छ,’ उनले भने।
प्रतिनिधि सभा पुनर्स्थापनाको विषय सर्वोच्च अदालतमा प्रवेश गरेको र अदालतको निर्णय मान्य हुने पनि बताए।
उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएको र त्यो दर्ता भइसकेको जानकारीमा रहेको पनि बताए।
‘अहिले हामी ५४ प्रतिशतलाई ६० प्रतिशत पुर्याउने र झारेर ३० प्रतिशतसम्म पुर्याउने ऊर्जा खर्च गरेर समय बरबाद गर्ने कि निर्वाचनका लागि अघि बढ्ने भन्ने प्रश्न छ,’ उनले भने, ‘गम्भीरताका साथ निर्णय गरेर जानुपर्नेछ। दुर्घटना जानु अघि सोचेर निर्णय गरौं।’