नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ।
कात्तिक २३ र २४ गते बसेको संगठनको केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउन टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको संगठनले सर्कुलरमार्फत् बताएको छ।
‘संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमहरूलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउन, आन्दोलनको चरित्र र विदेशी षड्यन्त्रको पर्दाफास गर्न र आम रूपमा समाजको सुरक्षाको सुनिश्चितता गर्न यो बैठक युवा जागरण अभियान सञ्चालन गर्ने निर्णय गर्दछ। यस अभियानअन्तर्गत् टोल–टोलमा टोल सुरक्षा समितिहरू बनाउने, वडा, पालिका र प्रदेश स्तरीय युथ फोर्स गठन गर्ने निर्देशित गर्दछ,’ सर्कुलरमा भनिएको छ।
यस अभियानको संयोजन गर्ने जिम्मेवारी संगठनका उपाध्यक्ष महाराज गुरूङलाई दिने निर्णय गर्नेको सर्कुलरमा उल्लेख छ।