नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले चुनावअघि महाधिवेशन मिति घोषणा गर्नुपर्ने बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले भने, ‘महाधिवेशन र चुनाव दुवै तोकिएको समयमा हुन जरूरी छ। यसका लागि छलफल र बहसमा अल्झिएर समय बरबाद नगरौं, महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौं। यसको मतलब निर्वाचनभन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं।’
उनले चुनाव कि अधिवेशन, नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफाल्न पनि आग्रह गरेका छन्।
‘अधिवेशन र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन्। केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठिकै होला। होइन भने पार्टी सहज अवस्थामा रहँदैन तर नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहना र रुपान्तरण ल्याउनेछ भने आम निर्वाचनले आम नेपाली जनतामा आशा भर्नेछ र सिङ्गो मुलुकलाई सहि दिशामा लान मद्दत गर्नेछ,’ उनले भने।
यस्तो उनको धारणा:
समसामयिक राजनीतिः
अहिले सिंगो मुलुक असहज परिस्थितिमा गुज्रिरहेको छ भने, राजनीतिक दलहरूमा सहजता हुने कुरै भएन। हर क्षेत्रमा आशंका, अनिश्चितता र चुनौतिका वादलहरु मडारिरहेका छन्। राजनीति विषयनै यस्तै छ। यो सधैं परिवर्तनशील मात्रै होइन, गतिशील र अस्थिर पनि हुन्छ। हरपल यो बदलिइरहन्छ। यसलाई स्थिर बनाउने भनेको सर्वमान्य प्रणालीको व्यवहारिक अभ्यासले हो। अर्थात राज्य संविधानले र पार्टी विधानले चलाउने हो। कुनै राजनीतिक घटना जनभावना अनुसार भए परिवर्तन भन्छौं र विपरीत भए दुर्घटना भन्छौं। अहिले जनभावना एकातिर, गतिविधि र परिणाम अर्कातिर भएकोले हामी यसलाई परिवर्तन मान्न सकिरहेका छैनौं। मानिसको व्यक्तिगत वा सामाजिक जीवनमा जस्तै यस्ता उतार चडावहरू राज्य, राज्य प्रणाली र राजनीतिक दलका आन्तरिक जीवनमा पनि हुन्छन्। नेपाली कांग्रेसको आठ दशक लामो जीवन यात्रामा यस्ता कैयौं आरोह अवरोह आएका छन्।
भदौ २३ र २४ गतेकोे अकल्पनीय घटनाले हामीलाई मुलुकका बारेमा मात्रै होइन हाम्रै पार्टीको आन्तरिक जीवनका बारेमा पनि गहिरो चिन्तन गर्नुपर्ने मोडमा पुर्याएको छ। हाम्रो पार्टीको नीति, नेतृत्व, संगठन र शैलीका बारेमा घोत्लीन र सामूहिक सम्वाद गर्न बाध्य पारेको छ।
आदरणीय सभापतिज्यू,
(क) गत भाद्र २३ गतेको जेनजी पुस्ताका यूवाहरूले भ्रष्ट्राचारविरुद्ध सुशासनका पक्षमा शान्तिपूर्ण गर्ने भनिएको प्रदर्शन केही क्षणमै अकस्मात अनियन्त्रित, अराजक र हिंसात्मक बन्यो। गोली चल्यो र १९ जना युवाले सोही दिन ज्यान गुमाउन पुगे। अत्यन्तै अकल्पनीय र दु:खद घटना घट्न पुग्यो। उक्त घटनाप्रति गहिरो दुःख, गर्दै घटनामा सहादत प्राप्त गरेका ती नेपाली आमाका सन्तानको दिवंगत आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति एवं उपचाररत घाइतेहरुको निशुल्क उपचारको माग गर्दै पूर्ण स्वास्थलाभको कामना गर्दछु।
(ख) भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवं उहाँकी धर्म पत्नी, पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा र परिवारजनमाथि भएको सांघातिक आक्रमण, उहाँको घरमा भएको तोडफोड, लुटपाट र आगजनी साथै पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ जना नेताका नीजि घर, डेरा एवं सवारी साधन, अन्य विभिन्न राजनैतिक दलका कार्यालय र दलका नेताहरूका नीजि घर र डेरासमेत आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरि ध्वस्त पारिएको घटनालाई नेपाली कांग्रेस र नेपाली कांग्रेसका नेताहरू माथिको आक्रमण मात्रै होइन, नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता र जनताको बलिदानीपूण क्रान्ति, संघर्ष र आन्दोलनवाट प्राप्त संघीय समावेसी लोकतान्त्रिक गणतन्त्र माथिको आक्रमण भएको ठहर गर्दै घोर निन्दा र भत्सर्ना गर्दछु।
राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरु, प्रहरी कार्यालय, स्थानीय पालिका भवन, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचना, विराटनगरको कोइराला निवास, काठमाडौं चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम, नेपाली कांग्रेस केन्द्रीय कार्यालय सहित ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालयमा आक्रमण, आगजनी, लुटपाट गर्नु, सुरक्षकमीका हातहतियार, वर्दी लगायतका सुरक्षा सामग्री खोस्नु, सुरक्षाकर्मीमाथि वर्वर आक्रमण र पासविक हत्या गरिनु र कारागारबाट कैदीबन्दी भगाउनु, मुलुकमा राज्यविहिनताको अवस्था सिर्जना गर्नुु गराउनुलाई राजनीतिक घटना मान्नै सकिँदैन यो राज्य विरुद्धको अमानवीय अपराधिक कार्य हो। २४ गतेका दिन प्रहरी कार्यालयमा वा सडकमा कर्तव्यपालन गर्दा मारिएका सम्पूर्ण राष्ट्रसेवक सुरक्षाकर्मीप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
(ग) यी दुवै दिनका घटनामा लुटिएका सुरक्षकर्मीका हातहतियार, बर्दी तथा सुरक्षा सामग्री तत्काल फिर्ता गराउन, विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई पुनः पक्राउ गर्न र तोडफोड र आगजनीबाट ध्वस्त पारिएका प्रहरी कार्यालयसहित सबै सरकारी भवन यथाशीघ्र पुनःनिर्माण गरि समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन घटनामा आक्रमणको निशानामा परि तोडफोड लुटपाट र आगजनीको शिकार भई सर्वस्व गुमाएका व्यक्ति, आर्थिक तथा व्यवसायिक नोक्सानी व्यहोर्न वाध्य भएका व्यापारिक-व्यवसायिक प्रतिष्ठानहरुलाई उचित क्षतिपूर्तिको प्रवन्ध गर्न नेपाली कांग्रेसको यो वैठकले सरकारसंग जोडदार माग गर्नुपर्दछ।
(घ) भाद्र २३ र २४ गतेको अकल्पनीय एवं अमानवीय र त्रासदी पूर्ण रुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भएको देखिएन। सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका अनगिन्ती तथ्यहरूले पुष्टि गरिरहेका छन्। तसर्थ राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र नेपाली जनताको हितलाई केन्द्रविन्दुमा राखि घटना र घटनासँग जोडिएका हरेक विषय र पक्षको यथाशीघ्र गहिरो तथ्यगत अध्ययन र खोजि गरी कानूनी दायरामा ल्याउनुपर्दछ। यसका लागि नेपाली कांग्रेस पार्टीले पनि विज्ञहरू सम्मिलित एक उच्च स्तरिय अध्ययन मिति गठन गरी सत्य तथ्यमा आधारित प्रतिवेदन तयार गर्नुपर्दछ।
(ङ) “भ्रष्ट्राचार अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” को आवाज तथा अभियान हाल जेनजी नामक युवा पुस्ताले मात्रै उठाएका होइनन्। यो सवाल हाम्रै पार्टीका यूवा विद्यार्थीहरूले पनि समय समयमा उठाउँदै आएका मुद्दा हुन्। लोकतान्त्रिक शासन प्रणालीमा आफूलाई चित्त नबुझेका कुरा नागरिकले सधैं उठाउछन्। उठाउन पाउनुपर्दछ। साथै यस्ता विषयहरू स्थायी प्रकृतिका हुन्छन्। विभिन्न समयमा फरक फरक ढंगले उठ्ने गर्दछ।
तर यी कुरा गरिरहँदा भ्रष्ट्राचार नियन्त्रण गरी नागरिकलाई सुशासन र पारदर्शिताको सुनिश्चिता दिलाउन नेपाली कांग्रेसकै सरकार भएको बेला २०५८ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन, सम्पति शुद्धीकरण आयोग, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग जस्ता नियमनकारी निकाय गठन गरेको कुरा भने अरुले भूले पनि नेपाली कांग्रेसले भुल्न हुँदैन। बरु राज्यका यी निकायले प्रभावकारी ढंगले किन काम गर्न सकिरहेका छैनन् भनेर चिन्तन गर्ने बेला आएको छ। यत्तिका संवैधानिक तथा कानूनी निकाय हुँदाहुँदै पनि भ्रष्ट्राचार दिनानुदिन मौलाउँदै जानु र जनताको शासन व्यवस्था ल्याउन बलिदानीपूर्ण ऐतिहासिक योगदान गरेका राजनीतिक दलहरु आलोचनाको केन्द्रमा रहने कुरा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक र पारदर्शी पार्टीका लागि लज्जाबोधको अवस्था हो।
प्रतिनिधि सभा विघटन र घोषित निर्वाचन सम्वन्धमाः
(क) भाद्र २४ गते मुलुकमा अकल्पनीय हिंसा, आतङ्क र अराजकताको अवस्था सृजना भयो। कुनै पनि सुरक्षा निकायले नागरिकको जीउधन एवं नीजि तथा सार्वजनिक सम्पतिको रक्षा गर्न सक्ने अवस्था भएन। स्थितिलाई मध्यनजर गरि प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुभयो। तत्पश्चातको कामचलाउँ सरकारले झन शाान्तिसुरक्षा कायम गर्ने सक्ने अवस्थानै रहेन। तत्कालिन सरकार विहिनताको अवस्थामा प्रदर्शनकारीहरुको मागलाई सम्बोधन गरी मुलुकमा शान्ति कायम गर्न सम्माननीय राष्ट्रपतिज्यूले संसद भन्दा बाहिरबाट संविधानले नचिनेको व्यक्तिलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभयो। विद्यमान संसदवाट तत्कालिन समस्याको निकास खोज्न सकिन्थ्यो तथापि परिस्थितिलाई समाल्न गरिएको संसद बाहिरवाट सरकार वनाउने र सोही सरकारले संसद विघटन गर्ने कुरा दुवै निर्णयलाई संविधान बमोजिमको कार्य मान्न सकिँदैन।
(ख) अहिले हाम्रो सामु देखिएको चुनौति भनेको तत्कालिन परिस्थितीलाई समाल्न गरिएको असंवैधानिक निर्णयका कारण बाटो विराउन पुगेको संविधानलाई पुनः कसरी मुलबाटोमा फर्काउने भन्ने नै हो। नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटन भएको भएता पनि नयाँ जनमतका लागि प्रतिनीधिसभाको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक नै मान्नु पर्दछ। किन कि निर्वाचनका माध्यमबाट संविधान विपरित भएका निर्णय सच्याउन सकिन्छ।
एकातर्फ नयाँ निर्वाचनको मिति घोषणा भएको छ भने अर्कातर्फ प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक हो भनि सर्वोच्च अदालतमा रिट निवेदन परि बहस पैरवी पनि भइरहेको अवस्था छ। नेपाली कांग्रेसले न्यायिक निरुपणको अदालती बाटोलाई निर्वाद खुला राख्दै निर्वाचनको बाटोलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ। अलमल गर्नु हुँदैन। २०६४ सालमा निर्वाचन हुन्छ कि हुँदैन भन्दै अलमल गरि बस्दाको परिणाम हामीले स्मरण गर्नुपर्दछ।
(ग) तर विद्यमान शान्ति सुरक्षाको अवस्थामा निर्वाचन हुन सक्ने नदेखिएकोले तत्काल शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोवल उच्च बनाउन र आम नागरिकहरुमा भयरहित वातावरण कायम गर्ने दायित्व सरकारको हो।
नेपाली कांग्रेसको आन्तरिक जीवनका बारेमाः
आदरणीय सभापतिज्यू,
(क) मानव जीवन र प्रवृतिनै यस्तै रहे । भाद्र २२ गतेसम्म असल, सक्षम पितातुल्य भनि सम्बोधन गरिएका पार्टी सभापतिमाथि अकस्मात अपराधिक भिडले सांघातिक आक्रमण गरी मरणासन्न अवस्थामा बनाएपछि तत्कालनै उहाँलाई अलोकप्रिय देखाउने प्रयत्न भयो। त्यो त्रसित र कहालीलाग्दो अवस्थामा सायद हामी कसैले पनि सत्य ओकल्ने हिम्मत गरेनौं। समय बित्दै गयो। उहाँको स्वास्थ अवस्थामा सन्तोषजनक सुधार भए। हामी सबै खुसी भयौं।
आश्विन २८ गते पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको बैठकमा आएर आफना मन र मस्तिष्कामा खेलेका भावनालाई शालिन शैलीमा लिखित मन्तव्यको रुपमा बैठकमा प्रस्तुत गर्नुभयो। उहाँका भावना, शब्द र शैलीले देश दुनियाँमा पार्टी प्रतिको सकारात्मक सन्देश फैलियो। जब उहाँप्रति प्रशंसाको ओइरो आउन थाल्यो फेरि हामी गर्व महसुस गरिरहेका र्छौं। सात पटक सांसद, पाँच पटक प्रधानमन्त्री र तीन पटक पार्टी सभापति हुँदा कुनै पनि दृष्टिले निर्विवाद रहुनुभएको राजनेता हो। आर्थिक सामाजिक तथा साँस्कृतिक क्षेत्रमा उहाँले गर्नुभएका राजनैतिक र सरकारी निर्णयहरूको निकै लामो सूचीले आज पनि त्यही प्रमाणित गर्दछ। उहाँले राष्ट्रिय राजनीतिमा गर्नुभएका ऐतिहासिक योगदान देश र कांग्रेसले सधै गौरव गर्न लायक छन्। उहाँ अहिले पार्टी सभापति मात्र होइन, देशकै अनुभवि राजनेताको रुपमा हुनुहुन्छ र सदैव रहि रहनुहुनेछ। हाल उहाँ थप उपचार गराइरहनु भएकोले उहाँको पूर्ण स्वास्थलाभको कामना गर्दछु।
(ख) हाल नेपाली कांग्रेसमा “काम कुरा एकातिर कुम्लो वोकि अकैतिर” भन्ने उखान चरितार्थ भएको छ। मुलुक संकटमा छ तर मुल्कको जेठो, पहिलो र जनताले भरोसा गरेको दल नेपाली कांग्रेस भने अहिले मात्रै होइन विगत लामो समयदेखि आन्तरिक खिचतानीको कारण खास खास समयमा अलमलिने गरेको छ। २०७९ को निर्वाचनमा नेपाली राजनीतिमा युवा र स्वतन्त्रको नाममा नयाँ लहर आउनु र हाम्रो जनमत घट्नुमा हाम्रो अलमल र अनिर्णय हो भन्ने मेरो ठहर छ।
२०७६ देखि २०८१ करिब पाँच वर्षसम्म नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठन गठन गर्नै सकेनौं। गठन गरेकाहरुमा पनि कुनैमा अध्यक्ष मात्रै र कुनैमा चार जना सदस्य राखेर वर्षौं गुजार्यौं। यही समयमा हज्जारौं युवाहरु दिशाविहीन भए। जब युवाहरू स्वतन्त्रका नाममा अन्य दल वा समूहमा आबद्ध हुने काम भइसक्यो अनि फेरि विधि विधान मिचेर जथाभावी मानिसहरुलाई भ्रातृ शुभेच्छुक संस्थामा तीन सय, चार सय र सात सयका भद्धा कार्यसमितिहरू बनायौं। पहिले काम गर्ने संख्याको समिति भएनन। पछि काम गर्नै सक्ने संख्याको समिति भएनन्। त्यसैले अहिले हामी युवा खोइ भनेर प्रश्न गर्दा पार्टीको निर्णयक तहमा रहनुभएका नेताहरूले यो बैठकलाई जबाफ दिनु पदैन र? ख्याल गरौ आज गरेको अलमलको मूल्य पार्टीलाई भारी पर्नेवाला छ। पछि फेरि अहिले नेतृत्वमा रहनुभएकाले जबाफ दिनुपर्नेछ।
(ग) तसर्थ निर्वाचन कि अधिवेशन? नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफालौं अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन्। केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठिकै होला। होइन भने पार्टी सहज अवस्थामा रहँदैन तर नियमित अधिवेशनले पार्टी जीवनमा उत्साह, चाहना र रुपान्तरण ल्याउनेछ भने आम निर्वाचनले आम नेपाली जनतामा आशा भर्नेछ र सिङ्गो मुलुकलाई सहि दिशामा लान मद्दत गर्नेछ। तर कुन पहिले भन्ने सवाल हाम्रा सामु तेर्सिएको छ। मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ। यसका लागि छलफल र बहसमा अल्झिएर समय वर्वाद नगरौं महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौं। यसको मतलब निर्वाचनभन्दा अघिनै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं।
सोहीअनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गर्रौं। क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण प्रभावकारी बनाउने कार्य तीव्र गतिमा अघि बढाऔं। यसले निर्वाचनको माहौल पनि सँगसँगै बनाउँदै लान्छ। वडा र पालिका तहसम्मको अधिवेशनले आम चुनावमा नोक्सान पुर्याउँदैन। जब निर्वाचनको चाप बढ्छ, पार्टीको सम्पूर्ण शक्ति आम निर्वाचनमा लगाउनु पर्ने हुन्छ तब अधिवेशनका बाँकी कार्यक्रम स्थगन गरी सम्पूर्ण शक्ति निर्वाचनमा लगाउला।
(घ) नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमति गरौं र तत्काल कार्यतालिका सार्वजनिक गरौं अधिवेशनलाई अनिवार्य चाहिने देहाय बमोजिमका समिति यही बैठकले गठन गरौं।
१. विधान संशोधन मस्यौदा समिति
२. क्रियाशील सदस्यता छानबिन समिति
३. निर्वाचन समिति
४ आर्थिक स्रोत व्यवस्थापन समिति
(ङ) आम निर्वाचनको तयारी पनि सँगसँगै गरौं। निर्वाचन हुन्छ भन्ने विश्वासका साथ पार्टीका सबै तहमा प्रवावकारी परिपत्र गरौं। यसका लागि देहायका काम यसै बैठकवाट गरौं;
(१) पार्टीको प्रतिवद्धता पत्र तयारी समिति
(२) निर्वाचन परिचालन समिति
(३) प्रचार प्रसार समिति
(४) विभिन्न समयमा पार्टीसँग गुनासो गरि निस्क्रिय रहेका वा पार्टी परित्याग गरी अन्यत्र गएका सार्थीहरूलाई पार्टीमा फर्कन, सकृय हुन र नवयुवाहरूलाई पार्टीमा आबद्ध हुन देशव्यापी अपिल गर्ने।
(५) विभिन्न तहमा रहेका पदाधिकारी, सदस्य एवं नेताहरूका विरुद्ध अनुशासनको कारबाही गरिपाउँ भनि केन्द्रीय अनुशासन समितिमा परेको लिखित उजुरी उपर अनुशासन समितिले गरेको निर्णयमा चित्त नबुझी अन्याय भयो भनि विधानका बमोजिम सम्वन्धित व्यक्तिले लिखित पुनरावेदन गरेको सन्दर्भ र वर्तमान विकसित राजनीतिक अवस्थामा पार्टीलाई सुसंगठित गर्न पार्टी भित्र बृहत एकता कायम गर्दै पार्टीलाई थम सवल वनाउँन उनीहरूलाई आगामी दिनमा त्यस्ता गल्ती कमजोरी नगर्न सचेत गराउँदै एकपटलाई आम माफी दिने।
(६) निर्वाचनमा सधैं बागी विद्रोही उम्मेदवारको मात्रै गल्ती हुँदैन भन्ने कुरा विगतका धेरै निर्वाचन, त्यसका परिणाम र तत्पश्चात हाम्रो पार्टीले गरेका निर्णयले प्रमाणित गरेका छन्। तर उम्मेदवार छनौटको निर्णय गर्ने व्यक्ति कहिल्यै दण्डित भएनन्। जसका कारण पनि पार्टीभित्र वितृष्ण र विकर्षण बढ्नुको एउटा कारण टिकट वितरणको लापरबाही पनि हो। त्यसैले त्यस्तो परिस्थितीमा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट प्रक्रियामा संलग्न निर्णायक व्यक्तिहरुलाई पनि जिम्मेवार वनाउँने नीति तय गर्नुपर्दछ। यसबाट उम्मेदवार छनौटमा देखिएको व्यथिति र भ्रष्ट्राचार अन्त्य गर्न सकिन्छ।
अन्त्यमा,
मुलुक संकटमा छ। व्यवस्थाविरुद्ध विभिन्न पक्षबाट प्रहार भइरहेको छ। यो व्यवस्था ल्याउन संघर्षमा सहकार्य गर्ने दल कमजोर बनाउने षडयन्त्रका तानावाना यत्रतत्र देखिरहेका छौं। हरेक वर्ष होइन, हरेक महिना स्थापित वैचारिक पार्टीहरू टुट्ने र अस्थिर मुद्दा उठाएर नयाँ पार्टी गठन गर्ने लहर चलेको बेला हामीले आपसमा संयम, संवाद र सहकार्यको माध्यमवाट देश र कांग्रेस जोगाउनु परेको ऐतिहासिक मोडमा छौं। समय को महत्त्व बुझौं अलमलबाट बाहिर निस्कौं भन्ने हार्दिक अनुरोध गर्दछु।