नेकपा एमाले निकट अनेरास्ववियुमा विवाद देखिएको छ। जेनजी आन्दोलनपछि गत भदौ २३ गते पदबाट राजीनामा दिएका डा. सुजन कडरिया पदमा फर्किन खोजेपछि महासचिव दीपक धामीले प्रतिवाद गरेका हुन्।
अध्यक्ष डा. कडरिया जिम्मेवारीमा फर्किएको भन्दै सोमबार कार्यालय समेत प्रवेश गरेका थिए।
तर महासचिव धामीले मंगलबार विज्ञप्ति निकालेर कडरियाले संगठन ध्वस्त पार्ने नियतका साथ राजीनामा दिएको, संगठनलाई खाँचो परेका बेला कायरतापूर्वक भागेको आरोप लगाएका छन्।
'केही दिनदेखि अनेरास्ववियुको आधिकारिक फेसबुक पेज तथा संगठनको लेटरप्याड समेत दुरूपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी आन्दोलनपश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठन ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ,' उनले भनेका छन्।
कडरियाले संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थका लागि संगठनको गरिमा माथि बुट बजारेको आरोप धामीले लगाएका छन्।
'अनधिकृत रूपमा संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गर्ने जस्ता अराजक र अराजनीतिक गतिविधिहरू तुरून्तै बन्द गर्न अनेरास्ववियु चेतावनी दिन चाहन्छ,' महासचिव धामीले भनेका छन्।
संगठनप्रति आस्थावान आम कार्यकर्ताहरूलाई यस्ता क्रियाकलापबाट टाढा रहन र राजनीतिक नैतिकता गुमाइसकेको व्यक्तिलाई स्थापित गर्न र संगठनको आन्तरिक जीवनमा विभाजन नल्याउन उनले भनेका छन्।
कडरिया गत जेठमा भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। महासचिव धामी पनि उनकै समूहबाट निर्वाचित भएका थिए।