नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर प्रतिपक्षी दल बैठकका निष्कर्षबारे जानकारी गराएका छन्।
कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारस्थित संसदीय दल बैठकमा प्रतिपक्षी दलहरूको बैठक बसेको थियो।
उक्त बैठकले तत्काल प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। आङ्देम्बेले उक्त निष्कर्ष मंगलबार सभामुख अर्याललाई भेटेर सुनाएका हुन्।
प्रतिपक्षी दलहरूले न्यायाधीशका विषयमा प्रश्न उठिरहेकोले संसदीय छानबिन गर्नुपर्नेसमेत निष्कर्ष निकालेका थिए। त्यसका लागि संसद बैठक आह्वान गरिनुपर्ने उनीहरूको भनाइ थियो।
‘गम्भीर विषयहरू आएका छन्। बाहिर छलफल गर्नभन्दा पनि यो विषयमा संसदमा छलफल हुनुपर्छ र त्यसका लागि छिटो संसद बैठक बोलाउनुपर्छ भनेर भनेको छु,’ आङ्देम्बेले भने, ‘संसदलाई यतिका समय खाली राखेर बस्न राम्रो हुँदैन।’
प्रेसमाथि भएका घटना, न्यायालय लगायतका विषयमा छलफल गर्न र सहज रूपमा अवतरण गराउन पनि संसदमा छलफल गर्नुपर्ने पनि उनले बताए।