नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत दाङ र प्यूठान जिल्लामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।
सोमबार दाङको घोराहीमा भएको अधिवेशनबाट जिल्ला सभापतिमा गोपालराज शर्मा सर्वसम्मत रूपमा चयन भएका छन्।
शर्मा पूर्वजिल्ला सहसचिव हुन्।
उनी हाल यो समूहका लुम्बिनी प्रदेश संयोजक रहेका तथा १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बेनेका गेहेन्द्र गिरी जिल्ला सभापति हुँदा शर्मा सहसचिव थिए।
त्यस्तै जिल्ला उपसभापतिमा सुरेन्द्रबहादुर खड्का र भगवानदास यादव चयन गरिएका छन्।
खड्का पनि घनश्याम रेग्मी जिल्ला सभापति छँदा जिल्ला सहसचिव थिए। उनै खड्का पार्टी संस्थापन पक्षले केही समय पहिले मात्रै गरेको अधिवेशनका क्रममा दाङ क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा पराजित भएका थिए। त्यसपछि उनी देउवा समूहमा लागेका थिए। यादव भने पेशाले शिक्षक हुन्।
त्यस्तै, सचिवमा पूर्ण मल्ल र गेहेन्द्र वली, सहसचिवमा रामबहादुर केसी र अनिता विक सर्वसम्मत रूपमा चयन गरिएका छन्।
विभिन्न २७ जना सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएका छन्।
जिल्ला सदस्यहरूमा डम्मरबहादुर अधिकारी, हरिप्रसाद भुषाल, गुमानसिंह वली, नुमाकान्त दाहाल, लेखराज ज्ञवाली, मिना विक, चेतनाथ ज्ञवाली, रन्जित श्रेष्ठ, लेखराज पुरी, टीकाराम पाण्डे, मदनबहादुर केसी, शारदा सार्की, लालबहादुर बस्नेत, कमला वली, खिमा बिक, कमला वली, मानबहादुर गुरूङ, रेशम नेपाली, पूर्णबहादुर खड्का, क्षिता खड्का, सोल पुन, रेखा थापा, नन्दलाल पुन, भलबहादुर वली, डम्बरबहादुर भण्डारी, सेवीकला कँडेल, हर्कबहादुर बुढाथोकी रहेका छन्।
यो समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले अधिवेशनको उद्घाटन गरेका थिए। जसलाई पूर्वजिल्ला सभापति विरेकश्वरी गौतम लगायतले सम्बोधन गरेका थिए। उद्घाटन पूर्व घोराहीमा पञ्चेबाजा सहितको र्याली निकालिएको थियो।
प्यूठानमा २ उपाध्यक्ष र ३ अध्यक्ष विभिन्न पदमा चयन
प्यूठानमा यो समूहले जिल्ला नेतृत्व चयन भएको छ।
प्यूठानको सभापतिमा देवेन्द्र बर्माको नेतृत्वमा जिल्ला नेतृत्व चयन गरिएको छ। बर्मा प्यूठानको उपमेयर हुन्। उनी पूर्वपत्रकार पनि हुन्।
तीन दिन अघिको १५ औं जिल्ला अधिवेशनबाट उपसभापति देविराम पुन (२०५४ को गाविस अध्यक्ष) र प्रमोद पोखरेल (झिमरूक गाउँपालिका उपाध्यक्ष) चयन गरिएका छन्। पोखरेल पनि पूर्वपत्रकार हुन्।
सचिवमा कुमार श्रेष्ठ (मल्लरानी गाउँपालिका –४ का वडाध्यक्ष) र दीपक केसी सर्वसम्मत चयन भएका हुन्।
सहसचिवमा गंगालाल विष्ट र माधव केसी छन्।
अधिवेशनले ३७ सदस्सीय सदस्य कार्यसमिति चयन गरेको छ।
अधिवेशनले प्रदेश (क) को सभापतिमा गोपाल थापा र प्रदेश (ख) को सभापतिमा नेत्रबहादुर केसी चयन गरेको छ।
थापा मल्लरानी गाउँपालिका–५ का वडाध्यक्ष हुन् भने जिसी प्यूठान नगरपालिका–७ का वडाध्यक्ष हुन्।
यो समूहमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य सरोज थापा (रोज राणा) पनि सक्रिय पूर्वक लागेका छन्। जसले प्यूठानमा तीन दशक पछि कांग्रेसलाई जित दिलाउन सफल भएका थिए।
देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार प्रदेशका १२ जिल्लाहरूमध्ये हालसम्म चार जिल्लाको अधिवेशन सकिएको छ।
दाङ, रोल्पा, प्यूठान र कपिलवस्तुको जिल्ला अधिवेशन यो समूहले गरिसकेको छ।
रोल्पाको सभापतिमा मानबहादुर खत्री र कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह सर्वसम्मत चयन भएका छन्।
गिरीका अनुसार १८ गते अर्घाखाँची, १९ गते बाँके र २० गते बर्दियाको अधिवेशनको मिति तय भएको छ।
रूकुम पूर्व, रूपन्देही लगायका बचेका अन्य जिल्लाहरूमा तिहारपछि मात्रै अधिवेशन हुने उनले बताए।