नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल बुधबार नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दैछन्। रावलसहितका नेताहरू बुधबार दिउँसो साढे एक बजे नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। आजै एमाले छाडेर केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्न लागेको नेताहरूले बताएका छन्।
उनीहरूलाई उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरूले स्वागत गर्दैछन्।
मातृभूमि जागरण अभियानलाई नै एकीकृत पार्टीमा समाहित गराउन लागेका रावललाई छैठौं वरीयता दिने सहमति भएको छ। त्यस्तै रावल सचिवालयमा रहनेछन्। रावललाई एमालेले गत पुस १० गते साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। पार्टी नीति र नेतृत्वविरूद्ध बोल्दै हिँडेको भन्दै एमालेले उनलाई पार्टीबाट निकालेको थियो।
त्यसपछि उनले आफूनिकटहरूलाई समेटेर मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए। अभियानले पार्टीको रूप भने लिइसकेको थिएन।
रावलले दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धामा गरेका थिए। आफूविरूद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि ओली उनीसँग रूष्ट थिए।