नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कम्तीमा अबका चार महिना पार्टी चलाउने र टिकट बाँड्ने जिम्मा दुई जना महामन्त्रीहरूलाई दिनुपर्ने बताएका छन्।
अहिलेको अनुहार लिएर कांग्रेसले चुनाव जित्दैन भनिसकेपछि आफूले यो कुरा गम्भीरतापूर्वक भनेको उनको भनाइ थियो।
‘तपाईंहरूलाई गम्भीरतापूर्वक अनुरोध छ- दुइटा महामन्त्रीले भन्नुभएको छ, यो अनुहार लिएर कांग्रेस चुनाव जित्दैन। चुनाव आउन चार महिना बाँकी छ। तपाईंहरू चुप लागेर बस्नुस्, दुई जनालाई जिम्मा लाउनुस्। टिकट बाँड्ने जिम्मा उहाँहरुलाई दिनुस्, पार्टी चलाउने जिम्मा उहाँहरूलाई दिनुस्,’ मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै रिजालले भने।
निर्वाचनको परिणाम गजब ल्याएका खण्डमा दुई महामन्त्रीलाई सलाम गरिने र पार्टी जिम्मा लगाइने उनले बताए।
‘होइन भने उहाँहरू चाहिँ बिदा हुनुहुन्छ नि, त्यसपछि। डिस्टर्ब नगर्नुस्, तपाईंहरू संस्थापनवाला बुढाखाडा छोड्नुस्, चुप लागेर बस्नुस्। पूर्व पदाधिकारीहरू दुइटा महामन्त्रीको जिम्मा लाउनुस्। किन कचपच गर्ने? यसरी चुनाव लडिन्छ? यसरी चुनाव लडिन्छ? चुनाव लड्ने ढंग हो यो? तपाईंहरू त सक्नुहुन्न। उहाँहरूले बुझ्नु भा छ नि त, बुझ्या मान्छेले चलाउन नदिने, आफै जबरजस्ती गर्ने। यो काम नगर्नुस्, विनम्रतापूर्वक अनुरोध छ,’ व्यङ्ग्य शैलीमा रिजालले भने।
उनले आफूलाई दुई महामन्त्रीले फागुन २१ को चुनवमा टिकट नदिए पनि स्वीकार्य हुनेसमेत बताएका थिए।
‘उहाँले टिकट दिनु भएन भने पनि म तयार। टिकट दिनु भयो भने तयार, दिनु भएन भने तयार, जे गर्नु हुन्छ म तयार। तर दुई जनालाई मात्र जिम्मा दिनुस्। उहाँले बनाउनु हुन्छछ संसदीय समिति, के भयो र? त्यति पनि विश्वास नगर्ने कहिलेसम्म त चार महिना, जम्मा चार चार महिना विश्वास नगर्ने? उहाँलाई कांग्रेसले अर्को १५-२० वर्ष विश्वास गर्नु पर्ने दिन आउँदै छ। उहाँहरूले ढंग पुराउनु भयो भने १५-२० वर्ष विश्वास गर्ने दिन बेला आउँदै छ। चार महिना विश्वास गर्नुस्,’ रिजालले भने।
उनले पार्टी चलाउनेमा सभापतिबाहेक अरू कसैको पनि दोष छैन भन्ने हो भने त्यही पास गर्न पनि आग्रह गरेका छन्।
साथै उनले संसदले आफ्नो म्यान्डेट गुमाएको थियो कि थिएन भन्नेबारे बहस हुनुपर्ने बताए।
‘यो संसदले म्यान्डेट गुमाएको थिएन भने आन्दोलन किन भयो? आन्दोलनलाई एकातिर बोक्ने अर्को तर्फ म्यान्डेट गुमाएको थिएन यो अहिलेको पार्लियामेन्टले भने दुइटा कुरा गर्न पाइँदैन,’ रिजालले भने, ‘कांग्रेस एक ठाउँमा उभिनुस्। म्यान्डेट गुमाएको हो कि होइन? म्यान्डेट गुमाएको भने नयाँ म्यान्डेटको लागि हिँड्न तयार हौं। नो एफ नो बट। नयाँ म्यान्डेटको लागि हिँड्न तयार हौं, कसले गुमाउँछ, कसले पाउँछ धेरै मतलब भए,’ उनले भने, ‘हैन म्यान्डेट कायम छ भने हामीले खुला खुला गरेर ओलीजीसँग संवाद गरेको हो नि त। भेट्न जानु पर्ने हुन्छ र? नेपाली कांग्रेसका नेताहरू र एमालेका नेताहरू हिजोसम्म हामीले चलाको थियौं सरकार। खुलमखुला उहाँलाई यहाँ बोलाऊँ कुरा गरौं, उहाँको अफिसमा बस्न जाऊँ, कुरा गरौं, टुंगो गरौं न। होइन भने म्यान्डेट गुमेको थियो, त्यसलाई सोचौं।’
उनले महाधिवेशन मिति तय गरिनुपर्ने बताए। उनले नियमित महाधिवेशन नगर्ने र बहुमत देखाएर कार्यकाल थप गर्ने काम भयो भने आफूहरूले पनि विशेष महाधिवेशन गरेर देखाउने बताए।
‘जति गरे पनि कार्यवाहक सभापतिजी, तपाईंले विशेष महाधिवेशनको प्रक्रियामा प्रवेश गर्दिनँ भन्न पाउनुहुन्न। कि विशेष महाधिवेशनमा निवेदन लिएर आएकाले फिर्ता लैजानुपर्थ्यो,’ रिजालले भने, ‘तपाईंले बैशाख के अर्को वर्ष गर्छु अधिवेशन एक वर्ष पछि गर्छु भनेर पास गर्नुभयो भने विशेष महाधिवेशन प्रक्रिया त प्रारम्भ गर्न पर्छ।’