सरकार र दुर्गा प्रसाईं समूहबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको छ।
वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, गृह प्रवक्ता आनन्द काफ्ले, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू पनि सहभागी थिए।
दुर्गा प्रसाईं समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू उपस्थित थिए।
गृहमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रसाईं समूहका अभिव्यक्ति, गतिविधि र उठाएका महागहरूसमेत संविधानसम्मत नरहेको, समाजलाई भाँड्ने प्रकृतिको रहेको भन्दै पूरा गराउन नसकिने जानकारी सरकारले गराएको थियो।
‘तपाईंहरूका अभिव्यक्ति अराजक छन्, गतिविधिहरू समाज भाँडने किसिमको देखिएको छ। संविधानसम्मत नरहेका यस्ता मागहरू पूरा गर्न सकिँदैन भन्ने जानकारी गराइएको छ,’ गृहमन्त्रीको सचिवालयले भन्यो।
प्रसाईं समूहले भने आफूहरूले आन्दोलन सुरू गरेको तीन वर्षपछि सरकारले पहिलो पटक औपचारिक ढंगले वार्तामा बोलाएको भन्दै खुसी प्रकट गरेको थियो। र, सरकारलाई धन्यवादसमेत दिएको थियो।
वार्तामा सहभागीहरूले प्रसाईं बिरामी परेकाले आज सहभागी हुन नसकेको पनि बताएका थिए।
आफूहरूले २७ बुँदे माग अघि सारेको बताउँदै एउटा मात्रै माग पूरा भएमा पनि आफूहरू अभिव्यक्ति सच्याउन तयार रहेको जानकारी सरकारलाई गराएका थिए।