भारतमा शरण लिएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिइएकोमा भारतले औपचारिक प्रतिक्रिया जनाएको छ।
हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधीकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोह क्रममा भएका व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधीकरणले यस्तो फैसला सुनाएको हो।
त्यसमा प्रतिक्रिया जनाउँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले सोमबार साँझ जारी गरेको विज्ञप्तिले भारतले सो फैसलालाई नोट गरेको भनेको छ।
'एक घनिष्ठ छिमेकीका रूपमा, भारत बंगलादेशका जनताको सर्वोत्तम हितप्रति प्रतिबद्ध छ। हामी त्यहाँ शान्ति, प्रजातन्त्र, समावेशिता र स्थायित्व कायम होस् भन्ने चाहन्छौं। हामी यो लक्ष्यका लागि सबै सरोकारवालासँग सधैं रचनात्मक रूपमा संलग्न रहनेछौं,' विज्ञप्तिमा भनिएको छ।
आफूविरूद्ध फैसला सुनाइएको विषयमा हसिनाले पनि प्रतिक्रिया जनाएकी छन्।
हसिनाले त्यसलाई जालझेलपूर्ण र राजनीतिक प्रतिशोधपूर्ण फैसला भनेकी छन्। यो फैसला पूर्वनिर्धारित र नियोजित रहेको पनि उनले बताएकी छन्।
हसिना अघिल्लो वर्षदेखि भारतको शरणमा छिन्।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थीहरूको आन्दोलन हिंसात्मक हुँदा त्यति बेला प्रधानमन्त्री रहेकी हसिनाले बल प्रयोग गरेकी थिइन्। त्यसका बाबजुद विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिना देश छाडेर भागेकी थिइन्।
त्यति बेला १४ सयभन्दा बढी प्रदर्शनकारी मारिएका थिए भने २५ हजारभन्दा बढी घाइते भएका थिए।
अभियोजकहरूले हत्या, हत्या प्रयास, उक्साएको, हिंसा नरोकेको लगायत कसुरमा मुद्दा दर्ता गरेका थिए। ती कसुरमा उनीविरूद्ध यसअघि नै बंगलादेशले पक्राउ पुर्जी जारी गरिसकेको थियो।
अहिले ती मुद्दामा उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको हो।