नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले भन्दा चुनाव गराउने भनिरहे पनि व्यवहारमा चुनाव गराउने चाहनै नरहेको बताएका छन्।
सरकारले फागुन २१ गतेलाई चुनावको मिति घोषणा गरे पनि क्रियाकलाप भने चुनाव गराउनेतर्फ नभएको उनले बताए।
सोमबार बुटवलमा आयोजित अन्तर्क्रियामा बोल्दै महासचिव पोखरेलले सरकारले राजनीतिक दलहरूसँग संवाद र छलफल गर्न नखोज्नुले सरकार नै चुनाव गराउन चाहँदैन भन्ने स्पष्ट भएको बताए।
‘सरकारले चुनाव गराउने भन्छ तर, राजनीतिक दलहरूसँग संवाद र छलफल गर्न चाहँदैन, अर्कोतर्फ सरकारले चुनावको लागि महत्त्वपूर्ण शक्ति सुरक्षा निकायको हतियार खोसिएका छन्, त्यसले प्रहरीको मनोबल कमजोर बनेको छ। प्रहरीका हतियार खोसिएका र कारागारबाट कैदीबन्दी भागेका कारण समाज त्रसित बनिरहेको छ यस्तो अवस्थामा चुनाव हुने सम्भावना नै छैन,’ उनले भने।
पोखरेलले नेकपा एमाले कहिल्यै चुनावबाट नभाग्ने र जनताको म्यान्डेटमा भरोसा गर्ने एक मात्र दल भएको भन्दै नहुने निर्वाचनको पैरवी भने एमाले नगर्ने बताए।
‘एमालेको स्पष्ट अडान छ यो सरकार चुनावका लागि होइन, निर्वाचन गराउँदा पनि गराउँदैन २०५९ जस्तो वैधता नपाउने चुनावको अर्थ छैन, ‘केही राजनीतिक दलहरूले जेन जी रिसाउलान् भनेर चुनाव भनेका छन् उनीहरूलाई पनि चुनाव हुन्छ भन्ने लागेको छैन,’ पोखरेलले भने।
पोखरेलले प्रहरीका लुटिएका हतियार र कारागारबाट भागेका कैदी बन्दी फिर्ता भएर प्रहरी र नागरिकको मनोबल नबढ्दासम्म र सरकारले राजनीतिक दलहरूलाई साथमा लिएर नहिँड्दा सम्म चुनाव हुने सम्भावना नभएको उनले बताए।
‘प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कँदासम्म चुनाव हुने सम्भावना देखिँदैन,’ उनले भने।
महासचिव पोखरेलले वर्तमान सरकारको चरित्र नै अनिर्णयमा आधारित भएको आरोप लगाए।
महासचिव पोखरेलले अहिलेको राजनीतिक सङ्कट समाधान गर्ने सबैभन्दा उचित उपाय संसद् पुनः स्थापना नै भएको बताए।
‘देशलाई संवैधानिक बाटोमा हिँडाउनका लागि प्रतिनिधिसभा पुनः स्थापना गर्ने र प्रतिनिधिसभाबाटै संविधान संशोधन गरेर युवाका माग सम्बोधन गर्दै चुनावमा जानु नै उत्तम उपाय हो,’ पोखरेलले भने।
पोखरेलले संसद् पुनः स्थापना सडक र अदालत दुवैले गरेको इतिहास रहेको उल्लेख गर्दै अदालतलाई बल पुगोस् भनेर नै एमालेले सडकबाट दबाब सिर्जना गरेको बताए।
पोखरेलले भदौ २३ र २४ गते देशभर देखिएको विध्वंसात्मक गतिविधि स्वतःस्फूर्त आन्दोलन मात्र नभई देशी विदेशी शक्तिको सङ्गठित घुसपैठ भएको दाबी गरे।
‘आन्दोलनको नेतृत्व गरेका कतिपय अहिले नक्कली नागरिकता प्रकरणमा प्रहरी हिरासतमा छन्, पानी वितरण गर्न गएको भनिएका हरू सरकार गठनमा निर्णायक बनिरहेका छन्, त्यति बेला कैयौँ फेक आइडीमार्फत आक्रमण र दुष्प्रचार गरिएका तथ्य बाहिर आइरहेका छन् यी सबै घटनाले त्यो आन्दोलन वास्तविक जेनजीको मात्र थिएन देशीविदेशी शक्तिको घुसपैठ थियो भन्ने पुष्टि भइसकेको छ,’ उनले भने।
अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले आगामी एघारौँ महाधिवेशनबाट पार्टीको नेतृत्व सर्वसम्मत रूपमा चयन हुने दाबी गरे।
ईश्वर पोखरेल लगायत वरिष्ठ नेताको उपस्थिति र सहमतिमा पार्टी विधान पारित भएकाले अब नेतृत्व चयन पनि त्यही भावना अनुसार सर्वसम्मत हुने उनले बताए।
कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेको अध्यक्षता र सचिव विष्णु घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।