नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन गर्न पार्टीभित्रका कतिपय नेताहरू नमानेको भन्दै विधानअनुसार विशेष महाधिवेशन गर्न संवाद सुरू गरेका छन्।
पार्टीभित्र विशेष महाधिवेशनका पक्षमा खुलेका नेताहरूसँग महामन्त्रीद्वयले संवाद सुरू गरेका हुन्।
सोही क्रममा आज नेता शेखर कोइरालासँग उनीहरूले संवाद गर्न लागेका छन्।
कोइरालाले पुसभित्र नियमित महाधिवेशन नभए केन्द्रीय समितिबाट निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका थिए।
‘नेता कोइराला पनि अब विशेष महाधिवेशनतिर जानुपर्छ भन्नेमा आइपुग्नु भएको छ, त्यसैले महामन्त्रीहरूले उहाँसँग आज कुरा गर्दै हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले भने।
कोइरालाले विशेष महाधिवेशन गरे पार्टी विभाजित हुने अभिव्यक्ति दिँदै आएका थिए। तर आज उनले युवाहरूसँगको भेटमा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जान सकिने बताएका थिए।
कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ।
असोज २८ देखि सुरू केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन। मंसिर ४ गते दिउँसो केन्द्रीय समिति बैठक बस्दैछ।
नेता कोइराला, महामन्त्रीद्वय थापा तथा शर्मा चुनावअघि महाधिवेशनका पक्षमा छन्। सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी वैशाखमा महाधिवेशनका पक्षमा छन्। दुईथरि मत भएपछि केन्द्रीय समितिले निर्णय लिन सकेको छैन।
केन्द्रीय समितिमा धारणा राख्दै महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न नसकिने भन्ने निष्कर्ष निकाल्ने हो भने मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग अनौपचारिक छलफल गरेर सहमति प्रयास गर्दै आएका छन्।
असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। विधानअनुसार तीन महिना (पुसभित्रै) विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ।
विशेष महाधिवेशन पक्षधरले पनि कार्यवाहक सभापतिलाई ध्यानाकर्ष पत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेराउसम्मका कार्यक्रम गर्ने भएका छन्।
यो पनि:
नियमित महाधिवेशन पुसभित्रै नभए केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय गर्नुपर्छ: शेखर कोइराला
विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशनको चर्चा पनि नगर्ने, केन्द्रीय कार्यालय घेर्ने