नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको छ।
भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुनेछ।
एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ। मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट पनि गर्दैछ।
त्यस्तै प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लिएर एमाले अदालत जाँदैछ। हिजो बसेको विघटित संसदीय दल बैठकले अदालत जाने विषयमा तयारी र आवश्यक कार्य गर्न निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ।
यसैबीच भदौ २४ गते आन्दोलनकारीबाट जलाएपछि एमाले बैठक पार्टी कार्यालयबाहिर बस्दै आएको थियो। सचिवालय बैठक प्रायः अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बस्ने गरेको थियो।
आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय एमालेले पुनर्निर्माण गरिरहेको छ। अहिले पार्टीका नियमित काम पार्टी कार्यालयबाटै भइरहेको छ। बिहीबारको बैठक पनि एमालेले पार्टी कार्यालयमै राख्न लागेको छ।