राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार दिउँसो केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो २ बजे बस्ने बैठकमा १० वटा विषयमा छलफल हुनेछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यको पहलबारे ब्रिफिङ हुनेछ। त्यसमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत गराइने झाले बताए।
आजको बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची छ।
त्यस्तै आजको बैठकले वाचापत्र कार्यदल विस्तार गर्नेछ। उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वापले चुनावी वाचापत्र कार्यदल गठन गरेको छ।
रास्वपाले संविधान परिमार्जनका लागि सुझाव कार्यदलसमेत बनाउँदैछ। आजैको बैठकले संयोजक मनोनयन गरी तत्काल काम सुरू गर्न निर्देशन दिने तयारी गरेको छ।
रास्वपाले मिडिया अध्ययन कार्यदलसमेत बनाउन लागेको छ। जसको उद्देश्य अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने रहेको छ।
कार्यदलले केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने तयारीसमेत गरेको छ।
यसका साथै रास्वपाले राजनीति अध्ययन कार्यदल पनि बनाउन लागेको छ।
यसको मुख्य काम राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने रहेको झाले बताए।
आठौं कार्यसूचीमा उम्मेदवार छनौट सिफारिस समिति विस्तार गर्ने रहेको झाले बताए।
आजको बैठकमा रूपन्देही–३ को उम्मेदवार सम्बन्धमा पनि छलफल हुनेछ। उक्त चुनावमा रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
विविध प्रस्तावमा राजनीतिक दल–संगठन अध्ययन कार्यदल गठन रहेको छ। यसले केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने रहेको छ।
रास्वपाले जेन–जी युवा लक्षित अभियान चलाउन लागेको छ। त्यसबारे पनि बैठकमा छलफल हुने झाले बताए।