नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्यहरू आन्तरिक छलफलमा जुट्ने भएका छन्।
आज बानेश्वरमा सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूले आन्तरिक छलफल गर्न लागेका हुन्।
भोलि दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि रणनीति तय गर्न उनीहरू छलफलमा जुट्न लागेका छन्।
केन्द्रीय सदस्य गुरू बरालले आज बिहान ११ बजे केन्द्रीय सदस्यहरू भेट्ने र कुराकानी गर्ने तयारी रहेको जानकारी दिए।
‘केन्द्रीय समिति बैठक भोलि बस्दैछ, आज हामी आन्तरिक छलफल गर्दैछौं। यस्ता छलफल पहिलेदेखि नै भइरहेका छन्,’ उनले सेतोपाटीसँग भने।
गत शनिबार पनि उनीहरूले छलफल गरेका थिए। छलफलमा करिब ८० जना केन्द्रीय सदस्य उपस्थित थिए। कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ। सभापति देउवानिकट २५ केन्द्रीय सदस्यहरू भने उक्त भेलामा गएका थिएनन्।
आजको आन्तरिक छलफलमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू भने उपस्थित हुने छैनन्।
कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरू भएको थियो। यसबीचमा नेताहरूले धारणा राखिसकेका छन्। सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट महाधिवेशनलगायत विषयमा निर्णय लिन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक स्थगित गरेर अनौपचारिक कुराकानी गरेका थिए।
सभापति देउवाले पनि नेताहरूसँग अनौपचारिक कुराकानी गरिरहेका छन्। सभापति देउवाले पार्टी एकढिक्का रहने गरी अघि बढ्नुपर्ने बताइरहेका छन्।
विशेष महाधिवेशन पक्षधरले पनि दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले अब विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन माग गर्दै कार्यवाहक सभापतिलाई ध्यानाकर्षण पत्र बुझाउने र केन्द्रीय कार्यालय घेराउ गर्नेलगायत कार्यक्रमको तयारी गरेका छन्।
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने, नियमित गर्ने कि विशेष भन्ने विवाद छ। सभापति देउवा पक्षका केही पदाधिकारी तथा केही पूर्वपदाधिकारी र करिब ८० केन्द्रीय सदस्य चुनावपछि महाधिवेशनका पक्षमा छन् भने २५ केन्द्रीय सदस्य चुनावअघि महाधिवेशनका पक्षमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशनमा जानुपर्नेमा उभिएका छन्। नेता कोइरालाले पुसभित्र १५ औं महाधिवेशन नभएका खण्डमा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन्।