नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले फेरि विद्रोह हुन्छ भन्दै नागरिकलाई डर–धम्की देखाइरहेको बताएका छन्।
शुक्रबार नेशन भोलेन्टियर फोर्स घोषणा गर्दै अध्यक्ष ओलीले फेरि विद्रोह हुन्छ भनेको प्रधानमन्त्रीको योजना हो कि अनुमान हो भन्दै प्रश्न गरेका छन्।
‘अझ ठूलो विपत्ति हुन्छ रे! प्रधानमन्त्रीले अस्ति बोलेको हामीले सुन्यौं। यदि यो सरकार संविधान सम्मत बनेको छैन भन्ने हो भने त झन् अर्को ठूलो विद्रोह हुन्छ र!, कसले विद्रोह गर्छ? अथवा नेपाली जनतालाई धम्क्याएर तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेको के भनेको त्यो?,’ उनले भने।
उनले फेरि आगो लगाउने? फेरि तोडफोड गर्ने? फेरि लुटपाट मच्चाउने? अथवा के भनेको? भन्दै अध्यक्ष ओलीले प्रश्न पनि गरे।
‘अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भनेर प्रधानमन्त्रीले भनेको अनुमान हो कि योजना हो? म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईंको योजना हो कि अनुुमान हो? योजना हो भने सपना नदेख्नुस्। अनुमान हो भने डराउन छाड्नुस्। नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस्,’ उनले भने।