नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहे पनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिए।
एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ।
अध्यक्ष ओलीले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गरे।
उनले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने बताए।
उनले फराकिलोपनका साथ सो महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।
उनले भने, ‘एमालेको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ। र म देख्दैछु, सुन्दैछु। त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस्। नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस्। एमाले आफ्नो महाधिवेशन गर्छ। आफ्ना ठाउँमा बसेर गर्छ। यस देशका लागि, यस देशको रक्षा, यसको सार्वभौमसत्ता, त्यसको स्वाधिनता, यसको स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, यसका जायज हितहरू, राष्ट्रिय हितहरू र यसको स्वाभिमानहरूलाई माथि उठाएर गर्छ। किन टाउको दुखाउने? त्यसमा टाउको दुख्छ भने हाम्रो भन्नु केही छैन। तर महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ।’
उनले अगाडि भने, ‘अरू थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन। नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछन्। र, नेकपा एमाले यस कुरा सजग छ। अब म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔं। फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔं। मेरो आग्रह छ। विभिन्न सामाजिक सञ्जालहरूमा केही भ्रमहरू फिजाइएको देख्छु। त्यस भ्रमहरूमा नलाग्नका लागि म साथीहरूलाई आग्रह गर्न चाहन्छु। कोही पनि नलागुन् यस्ता कुरा।’
अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाइमा पुर्याउने दाबी समेत गरे। –न्युज एजेन्सी नेपाल