नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प बाटो रहेको बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले आम निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे पछि निर्णय गर्ने भन्दै केन्द्रीय समिति बैठक मंसिर ११ गतेसम्मका लागि सारेपछि महामन्त्री थापाले अब विशेष महाधिवेशन निर्विकल्प बाटो रहेको प्रतिक्रिया दिएका हुन्।
`कांग्रेसको महाधिवेशन निर्वाचनभन्दा अगाडि अनिवार्य रूपमा गर्नैपर्छ, यसका लागि दुईवटा बाटो छ। एउटा नियमित महाधिवेशन अर्को विशेष महाधिवेशन। हाम्रो कार्यकाल मंसिरभित्रै सकिन्छ, यो समितिको म्याद थप्न हुँदैन, यही अवधिभित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्छ भनेर लामो समयदेखि मैले भन्दै आएको छु, पुस १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न मैले प्रस्ताव गरेको छु, पार्टीका कतिपय नेताहरूले गर्न सकिँदैन यो समयमा भनेर भन्नुभएको छ। त्यसो हो भने मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प हो,´ केन्द्रीय समिति बैठकपछि सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने।
महामन्त्री थापाले मंसिरको २७ र २८ गते विशेष महाधिवेशन गर्न सकिने पनि बताएका छन्।
`आज हामीले आम निर्वाचनमा जाने निर्णय गरेका छौं, त्यसका लागि पनि उत्तम बाटो भनेको मंसिर २७ र २८ गते विशेष महाधिवेशन हो। अहिलेको अवस्थामा उत्तेजनाको होइन, शान्तिको राजनीतिको नेतृत्व गर्नको लागि कांग्रेसमा नयाँ नेतृत्व चाहिन्छ,´उनले भने।
पुस मसान्तभन्दा अगाडि नै नियमित महाधिवेशन गर्न सिंगो पार्टी एक ठाउँमा आउँछ भने त्यो पनि उपयुक्त हुने महामन्त्री थापाको भनाइ छ। पुस मसान्तभित्र नियमित वा विशेष महाधिवेशन दुवै गर्दिनँ भन्न नपाइने पनि उनले बताए।