मधेसकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले चुनावमा मिलेर जाने निर्णय गरेको छ।
शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
चुनावमा सहभागी हुने र सातवटै घटक मिलेर जाने विषयमा सर्वसम्मतले निर्णय भएको उनले बताए।
मोर्चाले भयरहित, स्वच्छ, निष्पक्ष तथा शान्त वातावरणमा सम्पन्न हुने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ।
शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बैठक बसेको थियो।
मोर्चामा जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) छन्।
जनमत पार्टी भने पछिल्लो समय बैठकमा उपस्थित हुन छाडेको छ।