कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजनीतिक तथा सामाजिक एकता नै प्रदेश विकास र समृद्धिको आधार स्तम्भ भएको बताएका छन्।
नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौं जिल्ला कमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छा शक्तिको कमी नभइ एकतामा देखिएको कमजोरी भएको उल्लेख गरे।
पार्टी भित्र र बाहिर देखिने विभाजनात्मक सोचका कारण विकास प्रक्रिया अगाडि बढ्न नसकेको भन्दै उनले अब प्रदेश विकासलाई गति दिन सबै पक्ष एकै उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्ने बताए।
‘कर्णालीलाई अगाडि बढाउने तागत एउटै हो र त्यो एकता हो,’ उनले भने, ‘हामी अलग–अलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ ।’
उनले एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घर–घरमा पुगेको बताए।
तर, वरिपरीको मान्छे नहेरी, आफ्नै हितलाई मात्र प्राथमिकता दिने व्यवहारले संगठन र प्रदेश दुवै कमजोर बन्दै गएको उनले टिप्पणी गरे।
‘सामूहिक भावनाभन्दा व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति त्याग्नै पर्छ ,’ उनले भने ‘अवसर खोज्ने मात्र होइन, जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको छ ।’
हालको राजनीतिक परिस्थिति सहज नभएको बताउँदै उनले कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए।
उनले नेतृत्वको विषयमा कर्णालीले एउटै धारणा बनाउनु आवश्यकता औंल्याए।
त्यस्तै उनले सामाजिक सञ्जालको प्रयोगमा पनि जिम्मेवार बन्न नेतादेखि कार्यकर्तालाई आग्रह गरे।
‘सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, संगठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो,’ उनले भने ‘त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । मनपरी कुरा लेख्नु भएन।’