सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध मनपरी बोल्नेहरुलाई कारबाहीको माग गरेका छन्।
बाजुरामा शनिबार कांग्रेस त्रिवेणी नगर कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहले पार्टी सभापति देउवाविरुद्ध मनपरी बोल्नेहरुलाई केन्द्रीय समितिले कारबाही गर्नुपर्ने बताएका हुन्।
‘सभापति देउवाले मुलुक र पार्टीका लागि पुर्याएको योगदान अतुलनीय छ,’मुख्यमन्त्री शाहले भने ‘ त्यस्ता सभापतिकाविरुद्ध गैर जिम्मेवारीपूर्ण भाषा प्रयोग गर्न कसैलाई छुट छैन।’ पार्टीमा अनुशासन बलियो बनाएर जान आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहले पार्टीको मर्यादा भुल्नेहरु कारबाहीका भागिदार हुनुपर्ने बताए ।
कांग्रेस पार्टी विधि र पद्धतिमा चल्ने संस्था भएको भन्दै कसैलाई पनि जथाभावी बोल्ने छुट दिन नहुने बताएका थिए ।
उनले अहिले पनि सभापति देउवाको नेतृत्वमा नै पार्टी र देशलाई निकास दिन सकिने विश्वास व्यक्त गरे ।
विचलित नहुन, एउटै ठाउँमा उभिन र शुद्धीकरणसहित पार्टीलाई सही दिशातर्फ लैजान सक्ने सामथ्र्य पार्टी सभापति देउवा संग मात्रै रहेको उनले जिकिर गरे।