नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी पुस्ता प्रदर्शन र त्यसपछिका राजनीतिक घटनाक्रमबारे अध्ययन गरी दस्तावेजीकरण गर्ने भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले जेनजी प्रदर्शन तथा त्यसपछिको विकसित राजनीतिक घटनाक्रमको अध्ययन तथा दस्तावेजीकरण गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘जेनजी प्रदर्शन तथा पछिल्ला घटनाक्रमको सुक्ष्म विश्लेषण गरी पार्टीभित्र र बाहिरका विभिन्न पक्षसँग संवाद तथा छलफल गर्न पार्टीका तर्फबाट यससम्बन्धी अध्ययन, अनुसन्धान गरी दस्तावेजीकरण गर्ने निर्णय नेपाली कांग्रेसले गर्दछ,’ निर्णयमा भनिएको छ।
हाल मुलुक गम्भीर राजनीतिक संकटमा रहेको कांग्रेसको भनाइ छ।
‘यस संकटको सामना हामी सबै नेपालीले संयमता र धैर्यताका साथ एकतावद्ध भई गर्नु परेको छ। विगतमा आएका कैयौँ राष्ट्रिय संकटहरूलाई हामीले आफ्नै शक्ति, क्षमता र दूरदर्शिताले समाधान गर्दै आएको अनुभवका आधारमा, यस विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, जनताका मौलिक हक–अधिकारको सुरक्षा तथा संविधानको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्न सबैले सहकार्य गर्न आवश्यक छ,’ कांग्रेसको निर्णयमा उल्लेख छ।
कांग्रेसले सबै राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आपसी संवाद, संयमता र समझदारीको मार्ग अवलम्बन गर्न अपिलसमेत गरेको छ।
भदौ २३ गते जेनजी पुस्ताका युवाहरूको आह्वानमा भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा भएको प्रदर्शनका क्रममा अकल्पनीय र दुःखद घटना घट्न पुगेको कांग्रेसको भनाइ छ।
‘उक्त दिन १९ जना युवाले ज्यान गुमाउनु परेको घटनाप्रति कांग्रेसको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ। प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न माग गर्दछ। साथै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ निर्णयमा उल्लेख छ।
भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भएको कांग्रेसको भनाइ छ। ‘प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मीसहित सोही दिनमै ५७ जनाको ज्यान गयो र सयौँ नागरिक घाइते भए। सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भयो,’ विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अदालत, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालय, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू, विराटनगरको कोइराला निवास, काठमाडौं चाक्सीवारी स्थित गणेशमान सिंह निवास, ललितपुर बाँडेगाँउस्थित नेता कृष्णप्रसाद भट्टराईको आश्रम, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालयहरू, नेपाली कांग्रेसका सभापति तथा उनकी धर्मपत्नी पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण, उनको निवासमा भएको तोडफोड, लुटपाट र आगजनी साथै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ भन्दा बढी नेताका निजी निवासहरू तथा अन्य विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर–डेरा, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिमा भएका आक्रमण, तोडफोड, लुटपाट र आगजनीका सबै घटना अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंसकारी रहेको कांग्रेसको भनाइ छ।
कांग्रेसले जेनजी पुस्ताले प्रदर्शनमार्फत् उठाएका “भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” जस्ता प्रमुख विषयहरू स्वाभाविक, वैध र आम नागरिकको आवाज रहेको कांग्रेसको ठहर छ। ‘कांग्रेस प्रदर्शन मार्फत उठाइएका सुशासनका मागलाई सदैव सकारात्मक ढङ्गले लिने गरेको स्मरण गराउँदै सो माग पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दछ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ।