नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको आडमा देशभर अराजकता फैलाइएको बताएका छन्।
आइतबार विराटनगरमा आफू चढेको गाडीमा रातो मसी छ्याप्न खोजिएपछि उनले वास्तविक जेनजीको यसमा भूमिका नरहेको बरू उनीहरू आडमा अराजकता फैलाइएको दाबी गरेका हुन्।
‘दुई जना केटाहरूले मसीको भाँडामा ढुंगा राखेर हान्न खोजे। प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रण गर्यो। हाम्रा युवा पनि उत्तेजित भएका थिए, प्रतिकार गर्न खोज्दै थिए, उनीहरूलाई हामीले रोक्यौं। हाम्रो युवाहरूको ठूलै संख्या थियो, झगडा गराउने कुरा भएन,’ उनले भने, ‘जेनजीको आडमा अराजकता फैलाउने काम भइरहेको छ, ओरिजिनल जेनजीको यसमा कुनै भूमिका छैन। जेनजीको आडमा अराजक गतिविधि देशभरि बढाएर, जे गर्न खोजिँदेछ, त्यो राम्रो भएन।’
लोकतान्त्रिक पद्धतिलाई सबैले मान्नुपर्ने उनले बताए। यस्तै लोकतान्त्रिक प्रक्रियालाई सरकारले संरक्षण गर्नुपर्ने पनि बताए। यद्यपि आज आज प्रहरीको भूमिका राम्रो रहेको र सहजीकरण गरेको उनले बताए।
‘लेखेर, बोलेर विरोध गर, फेसबुकमा तल्लो स्तरको टिप्प्णी भई नै रहेको छ, हामीले सहेका छौं,’ उनले भने, ‘यस्तो प्रकारको आक्रमण गर्ने, मसीमा ढुंगा राखेर फ्याक्ने, अवरोध गर्न त पाइएन। सभा सम्मेलन गर्ने, देशभर हिँड्डुल गर्न पाउने अधिकार सबै हो।’
उनी राष्ट्रिय युवा संघको प्रदेशस्तरीय जागरण सभामा सहभागी हुन इटहरी जाँदै थिए। विराटनगर विमानस्थलबाट बाहिरिएर कार्यक्रम स्थलमा जाने क्रममा उनीमाथि मसी छ्याप्न खोजिएको थियो।