नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नेपालको राजनीतिक इतिहासले आजको दिनलाई विशेष दिनका रूपमा स्मरण गर्ने दाबी गरेका छ्न्।
पार्टी घोषणा कार्यक्रममलाई सम्बोधन गर्दै नेता परियारले प्रगतिशील लोकतान्त्रिक पार्टी नेपालमा अरू राजनीतिक दल भन्दा फरक ढंगले आउने बताए।
'नेपाल र विश्वले जुन संकट भोगिरहेको छ। त्यो संकटलाई समाधान गर्ने गरी प्रगतिशील मुद्दालाई लोकतान्त्रिक विधि पद्दतिबाट जनताको जीवनस्तर उकास्ने गरी शासकको होइन जनतालाई केन्द्रमा राखि पार्टी आउँदैछ,' उनले भने।
पार्टी र देश बन्नका लागि सामूहिकतामा काम गर्नुपर्ने र नवघोषित पार्टीले त्यसलाई प्राथमिकता दिने उनले बताए।
' व्यक्ति बनेर समग्र नबन्ने रहेछ। यो संसारमा बनेका देशहरू सामूहिकतामा काम गरेर बनेका रहेछन्। पछिल्लो समय जे भइरहेको छ त्यो सामूहिक असफलता हो,' उनले भने, ' मंसिर ७ गते २०८२ नेपालको इतिहासमा नेपाली राज्यलाई बलियो बनाउने, शासकले शासन होइन सेवा गर्ने बनाउने, यो राज्य जनताको लागि बनाउने र प्रत्येक नागरिकको बनाउने अभियानको रूपमा दर्ज हुनेछ।'
हिजो हामीले सापटी लिएका अवधारणाहरूले आज हाम्रै समस्या समाधान गर्न नसक्ने ठाउँमा पुगेको उनले बताए।
त्यसकारण संकटको घडीमा सामूहिकतामा प्रयत्न गर्नुपर्ने उनको भनाइ छ।
'बुद्धी पुर्याएनौं भने सामूहिकतामा प्रयत्न गरेनौं भने हामी आफ्नै संकीर्णताबाट उठेनौं भने यौ देश देशजस्तो नरहन सक्छ। जनताको नरहन सक्छ। त्यसकारण अग्रजहरूको अनुभव, जेनजी पुस्ताको मेहनत संगसँगै लिएर जाँदै छौं,' उनले भने।
समावेशी नहुँदा पुस्तौं पुस्तालाई छोड्दा कुन तहको आन्दोलन हुँदो रहेछ भनेर हामीले जेनजी आन्दोलनबाट देखिएको पनि उनले बताए।
'लामो समयदेखि नेपाली राजनीतिले पुस्तौं पुस्तालाई समेटेको थिएन। समावेश गरेको थिएन। कैयौं पुस्ता पलायन भएर गए। कोही विदेश गए। तर यो पुस्ता पलायन हुन मानेन। विद्रोह गर्यो। र सम्पूर्ण पार्टीहरूलाई सोच्न बाध्य बनायो,' उनले भने।
यसबारे केही पार्टीले मात्रै थोरै बहस सुरू गरेको बताए।
'तर आजको नेपाली समाज अनुसारको पार्टी बन्नुपर्ने हो त्यो पार्टी बनाउन कोही पनि लागेको देखिएन । प्रगतिशील लोकतान्त्रिक पार्टीले तसर्थ समावेशी तथा सामूहिक नेतृत्वको विकास गरेको छ,' उनले भने।