अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ।
संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन्।
उनीहरूले अध्यक्ष राईलाई पत्र लेख्दै आफूहरू पार्टीबाट अलग भएको जानकारी गराएका छन्।
‘हामी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ-आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडी बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा उल्लेख छ।
उनीहरूले जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू समेत खतरामा पर्न सक्ने भएकाले विचारमा सामिप्यता रहेको परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरूको रक्षा र थप उपलब्धी प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्नेसमेत निष्कर्ष निकालेका छन्।
संघीय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार, कृष्णबहादुर घजु नेपाली कम्युनिस्ट पार्टीमा जान लागेका हुन्।
उनीहरूले केही समयदेखि नेपाली कम्युनिस्ट पार्टीसँग वार्ता गरिरहेका थिए।