नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रमुख दल भनिएका पार्टीहरू असफल सिद्ध भइसकेको निष्कर्ष निकालेको छ।
आइतबार मात्रै घोषणा भएको प्रलोपाले नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) परिवर्तनकारी पार्टी भए पनि असफल सिद्ध भएको निष्कर्ष निकालेको हो।
‘आजको कांग्रेस, एमाले र माओवादी आ-आफ्नो समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै हुन्,’ घोषणापत्रको राजनीतिको समीक्षा खण्डमा भनिएको छ, ‘परन्तु, इतिहासमा योगदान गरेका दलहरूको राज्य सत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल सिद्ध हुन पुगे।’
कांग्रेस ४५ वर्ष, एमाले ३६ वर्ष र माओवादी केन्द्र करिब १७ वर्ष सत्ताको वरिपरि नै भए पनि देश विकासको प्रमुख शत्रुका रूपमा रहेको हजारौं वर्षदेखिको समाजिक उत्पीडन मूलतः जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भएको प्रलोपाको निष्कर्ष छ।
‘नेपालको विकासका लागि अनिवार्य बन्न पुगेको नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको साटो मौजुदा विकृत संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले,’ घोषणापत्रमा भनिएको छ।
भ्रष्टाचार, नातावाद-कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिकरण गरी ती दलहरूले राज्यका संस्था र प्रणालीलाई थप निकम्मा बनाएको पनि प्रलोपाको निष्कर्ष छ।
साथै नागरिक प्रतिनिधिले संविधान सभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र राजनीतिक दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको तस्तै सम्बोधन हुन नसकेको ठहर गरेको छ।
‘नियन्त्रित लोकतन्त्र र जनवादको प्रयोगले दलहरूलाई अपांग बनायो,’ उनले भने।
ती दलहरू सांस्कृतिक भ्रष्टीकरण, गुजारा केन्द्रित राजनीति र कर्मचारीतन्त्रमाथि प्रगतिशील हस्तक्षेप गर्दै भिजन र दृढतासहित अग्रसर हुन असमर्थ रहेको पनि प्रलोपाको निष्कर्ष छ।
रोजगारी, व्यावसायिक शिक्षा, विज्ञान प्रविधि र उद्योग कलकारखानाको विकास एवम् जनजीविकाका सवाल सम्बोध ‘खराबीको इकोसिस्टम’ भत्काएर ‘विकासको इकोसिस्टम’ निर्माण गर्नुपर्नेमा दलहरू त्यसतर्फ अग्रसर हुन नसकेको उसको ठहर छ।
‘ठूला भनिएका दलका नेता-कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो र समयको गति केहो हो पत्तै भएन। त्यसकारण पुनर्जागरण आन्दोलनमार्फत अग्रगामी विचारका आधारमा संविधान संशोधन गरी देशलाई आर्थिक विकास र समृद्धिको युगमा प्रवेश गराउनु आजको मुख्य राजनीतिक कार्यभार बन्न पुगेको छ,’ घोषणापत्रमा भनिएको छ।
यद्यपि कांग्रेस र कम्युनिस्ट पार्टीले जहानीया राणा शासन र पञ्चायती व्यवस्था फालेर मुलुकमा प्रजातन्त्र र बहुदल ल्याउन भने योगदान गरेको लोप्रपाको स्वीकारोक्ति छ।
पछिल्लो समय राजतन्त्र फालेर नागिरक सर्वोच्चतासहितको व्यवस्था समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मूलतः २०५२ मा स्थापित पार्टी नेकपा (माओवादी) र जनयुद्धको योगदान रहेको दाबी गरेको छ।
गणतन्त्रपछि स्थापित मधेसवादी दल र आदिवासी जनजाति आन्दोलनले देशमा संघीयता ल्याउन महत्त्वपूर्ण योगदान गरेको लोप्रपाको निष्कर्ष छ।