अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग परामर्श गरेर बनाएको भनिएको २८ बुँदे शान्ति योजना संशोधन भएको छ।
जेनेभामा आइतबार अमेरिकी र युक्रेनी उच्चस्तरीय प्रतिनिधिहरूको छलफलले रूस-युक्रेन शान्ति सम्झौताको नयाँ खाका तयार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
जेनेभामा सम्पन्न वार्तालाई दुवै देशले सकारात्मक र उत्पादनमूलक भएको भनेका छन्। साथै वार्तालाई आगामी दिनमा पनि निरन्तरता दिइने भनिएको छ।
संशोधित शान्ति योजनामा युक्रेनको सुरक्षा ज्ञारेन्टी अझै मजबुत बनाइएको र सेनाको आकार तथा दुई देशको सीमाबारे पनि युक्रेनलाई नोक्सान नहुनेगरी बनाइएको भनिएको छ।
वार्तामा अमेरकी विदेशमन्त्री मार्को रूबिओ, रक्षामन्त्री पिट हेगसेथसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी थिए।
विदेशमन्त्री रूबिओले नेटोको भूमिका, रूस युक्रेनको सीमाना र सुरक्षा संयन्त्रबारे अझै समाधान खोजिने बताएका छन्।
यसअघि राष्ट्रपति ट्रम्पले युक्रेनले डोनबास लगायतका भूभागहरू रूसलाई दिनुपर्ने सहित नेटोमा संलग्न नहुने, सेनाको आकार पनि घटाउने लगायतका प्रस्तावहरू तयार पारेर युक्रेनलाई सहमत हुन धम्की दिएका थिए।
सहमति नभए अमेरिकाले अहिलेसम्म गर्दै आएको सहायता रोक्ने चेतावनी दिएका थिए।
जेनेभा वार्ताअघि ट्रम्पले युक्रेन अमेरिकी सहयोगप्रति आभार नरहेको बताएका थिए। त्यसले वार्ताको सुरूवातमा केही भनाभन भएको भनेर रोयटर्सले लेखेको छ।
ट्रम्प प्रशासनले अघि सारेको प्रस्ताव रूसप्रति अनुकूल देखिएको भन्दै युक्रेन र उसका युरोपेली सहयोगी राष्ट्रहरूले आलोचना गरेको थियो।
युरोपेली साझेदारहरूले अमेरिकी योजनामा संशोधन गर्दै युक्रेनको सेना आकार घटाउने प्रस्ताव र भूमिसम्बन्धी पूर्वनिर्धारित सर्तहरू विरुद्ध कडा आपत्ति जनाएका थिए।
संशोधित प्रावधानहरूमा युक्रेनले यसअघि तोकिएको ६ लाखभन्दा बढी आकारको सेना राख्न पाउने र जमिनको सम्झौता फ्रन्टलाइनको आधारबाट हुने भनिएको छ।
यद्यपि रूसले पछिल्लो समय आक्रमण तीव्र पार्दै युक्रेनी भूभागहरू कब्जा गरिरहेको छ।
ठूलो जनधनको क्षति भए पनि रूस अघि बढिरहेको छ।
शान्ति योजना संशोधन भएपछि ट्रम्प र जेलेन्स्की चाँडै भेट्ने तय भएको पनि रोयटर्सले जनाएको छ।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार जेलेन्स्की यही साता वाशिङ्टन जान सक्नेछन्। भेटका लागि अन्य विकल्पबारे पनि छलफल भइरहेको बताएका छन्।
शान्ति योजनामा सहमत जनाउनका लागि युक्रेनलाई बिहीबारसम्मको समय दिइएको छ। यद्यपि यो समय थपिन सक्ने अमेरिकी विदेशमन्त्री रूबिओले बताएका छन्।