उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
मंसिर १० गते सबै जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।
मंसिर ११ गतेदेखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन सञ्चालन हुने पनि उल्लेख छ।
मंसिर १९ र २१ गते जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालयअगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने पनि कार्यक्रम रहेको जसपा नेपालले जनाएको छ।
मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिने र प्रदेश स्तरीय जनप्रदर्शन तथा विरोध सभासमेत गरिने उल्लेख छ।
पुस १२ गते कोशीको विराटनगरमा, पुस १४ गते मधेसको जनकपुरमा, पुस १५ गते मधेसकै वीरगञ्जमा, पुस १७ गते लुम्बिनीको नेपालगञ्ज/भैरहवामा पनि जनप्रदर्शन हुने जसपा नेपालले जनाएको छ।
यसका साथै आवश्यकताअनुसार अन्य विरोध कार्यक्ररू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सक्ने जसपा नेपालले जनाएको छ।
जसपाले शान्तिपूर्ण तर सशक्त संघर्षको दिशामा अघि बढ्न पनि आग्रह गरेको छ।
जसपाले संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा (१०+१) हुने गरी राज्यको पुनः पुनर्संरचना गरिनुपर्ने माग राख्दै आएको छ।
संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाइनुपर्ने तथा प्रदेशलाई प्रदेशमा स्वशासन र संघमा साझेदारी प्रणालिको ब्यवस्था गरिनुपर्ने पनि उल्लेख छ।
साथै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्न पनि जसपाको माग छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्ने आवाज छ।
राष्ट्रिय सभालाई प्रादेशिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी बनाउने र स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राखिनुपर्दछ भन्ने माग जसपा नेपालको छ।