जेनजी अभियानी रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
फ्रन्टले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ।
‘प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमती सहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको भनी सार्वजनिक भएको समाचारप्रति नेपाल जेन-जी फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरूपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहीता र पारदर्शीता विरूद्धको प्रत्यक्ष प्रहार हो।’
साथै जेन-जी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका यी र यस्तै विकृतिविरूद्धको विद्रोह रहेको र यस प्रकरणले फेरि एकपटक राज्य संयन्त्रभित्रको विकृत अभ्यास उजागर गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
‘नेपाल जेन-जी फ्रन्ट यस प्रकारका गतिविधिको घोर भर्त्सना गर्दछ। प्रत्यक्ष रूपमा जेन-जी विद्रोहको मर्म र यसको म्यान्डेटका विरूद्ध हुने गरी भएको यस्तो गतिविधि पुन: नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि नेपाल सरकार र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्तसहित विभिन्न मागहरू पूरा गर्न नेपाल जेन-जी फ्रन्ट जोडदार अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठले अनैतिक नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेजी गर्नुपर्ने, सुशासन र जबाफदेहीताको नाराका बलमा बनेको सरकारमा पुन: नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी दिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवालयभित्र हुने नियुक्ति, दरबन्दी र भूमिकालाई अब उप्रान्त पूर्ण पारदर्शी र मापदण्डमा आधारित बनाउने स्पष्ट नीति निर्माण र कार्यान्वयन गर्न नेपाल जेनजी फ्रन्टले आग्रह गरेको छ।
यस्तो छ विज्ञप्ति:
