प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठबारे प्रश्न उठेपछि सचिवालयले स्पष्टीकरण दिएको छ।
प्रमुख स्वकीय सचिवले प्रधानमन्त्रीको सचिवालयमा आफन्तहरूलाई भर्ती गरेको भन्ने विषय सार्वजनिक भएपछि सचिवालयले सोमबार विज्ञप्ती जारी गरी त्यसमा स्पष्टीकरण दिएको हो।
स्पष्टीकरणमा प्रमुख स्वकीय सचिव पदमा प्रधानमन्त्रीले नियुक्ति गर्ने तथा सचिवालयका अन्य कर्मचारीहरू प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्ने सक्ने व्यवस्था रहेको र सोही व्यवस्थाअनुसार कर्मचारी नियुक्त भएको बताइएको छ।
राज्यकोषमा कम भार परोस् भनेर सचिवालय पनि दरबन्दी भएको भन्दा कम जनशक्तिमा सञ्चालन गरिएको पनि स्पष्टीकरणमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीको परिवारमा उनको श्रीमान मात्रै भएको र उनको उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो पात्रलाई प्रधानमन्त्रीले छनोट गरी नियुक्त गरेको विज्ञप्तीमा उल्लेख छ।
'प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घन्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,' विज्ञप्तीमा भनिएको छ।
अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार नभनिदिन सचिवालयले अनुरोध गरेको छ।
कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
'१९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ। स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ,' विज्ञप्तीमा भनिएको छ।
हाल प्रधानमन्त्रीको सचिवालयमा २० जना कार्यरत रहेको पनि विज्ञप्तीमा भनिएको छ।