नेपाली कांग्रेसको महाधिवेशन फागुन २१ गतेभन्दा अघि गर्नुपर्ने पक्षमा रहेका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका नेताहरूसँग आज छलफल गरेका छन्।
केन्द्रीय सदस्य आङगेलु शेर्पाले विशेष महाधिवेशन माग गर्न अगुवाइ गरेका नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, बलदेव तिमल्सिना लगायतसँग ४ घन्टा कुराकानी गरिएको जानकारी दिए।
सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठ, तारामान गुरूङ, जानकी सिंह चुनावअघि महाधिवेशनका पक्षमा छन्।
छलफलमा विशेष महाधिवेशन पक्षधरहरूले अब नियमित महाधिवेशन सम्भव नरहेको भन्दै विशेष महाधिवेशनका लागि सहयोग माग गरेका थिए।
‘हामीले पहिलो प्राथमिकता नियमित महाधिवेशन नै राखेका छौं, चुनावअघि महाधिवेशन गर्नुपर्छ भन्यौं,’ शेर्पाले भने, ‘नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गर्दै सभापति, कार्यवाहक सभापति, दुवै महामन्त्री र नेता शेखर कोइरालालाई भेटेर कुराकानी पनि गरिसकेका छौं।’
नियमित महाधिवेशन गर्दा पार्टीका ७ तहको अधिवेशन हुने र सबै तहका कार्यसमिति चलायमान हुने पनि उनले बताए। साथै जेनजी पुस्तालाई पनि समेट्न सकिने नियमित महाधिवेशन पक्षधरहरूको कुरा थियो।
कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्दैछ। आमचुनावमा जाने निर्णय गरेको कांग्रेसले चुनावअघि महाधिवेशनबारे भने अहिलेसम्म निर्णय लिएको छैन। पार्टीभित्र चुनावअघि महाधिवेशन कि पछि भन्नेमा मतभेद छ भने नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने पनि अन्यौल छ।
‘मंसिर ११ गतेको केन्द्रीय समितिबाट नियमित महाधिवेशन गर्ने खालको कार्यतालिका आएका खण्डमा सोच्न सकिन्छ भन्ने कुरा विशेष महाधिवेशन पक्षधरका नेताहरूको छ,’ उनले भने।
पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने र त्यो अवधिमा विभिन्न बाहनामा महाधिवेशन सार्न हो कि भन्ने आशंका विशेष महाधिवेशन पक्षधरका नेताहरूको छ।
विशेष महाधिवेशन पक्षधरले गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।
विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ।
विशेष महाधिवेशन पक्षधरले भने अब नियमित महाधिवेशनको चर्चा पनि नगर्ने भन्दै विशेष महाधिवेशन प्रक्रिया सुरू गर्न र महाधिवेशन मिति तथा स्थान तोक्न माग गरेका थिए।
उनीहरूले मंसिर १० गते काठमाडौंमा भेलासमेत राखेका छन्।