गृहमन्त्री ओम प्रकाश अर्यालले विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक खपतका कुरा गर्नेहरूलाई कामले जबाफ दिने बताएका छन्।
'विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहीँकतै सुनिएका छन्, सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जबाफ दिन्छ र दिइरहेको छ,' उनले भने।
उनले अगाडि भने, 'राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रूपमा औंल्याउनु भएको छ। हामीले धेरै परिणाममा विशेष अपरेसन मार्फत् ती हतियार फिर्ता ल्याइसकेका छौं भने ठूलो संख्यामा कैदीहरू पनि फिर्ता भैसकेका छन्।'
लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गाेष्ठीलाई सम्बोधन गर्दै अर्यालले आफूहरू कसैको निगाहबाट आएकाे नभई सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर जेनजी युवाहरूबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा सरकार गठन भएको बताए।
'वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन। हामी कुनै अपेक्षाले आएका होइनौं र हाम्रो व्यक्तिगत इच्छाले पनि आएका होइनौं। देशको विशिष्ट अवस्थामा, सूक्ष्मतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं,' उनले भने।
गृहमन्त्री अर्यालले सरकारको अभिभारा सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने रहेकोले यिनै अभिभारालाई मूलमन्त्र मानेर काम गरिरहेको दाबी गरे।
त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएकाे बताउँदै चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारी आफूहरूकाे काँधमा रहेको बताए।
'हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन। प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ, त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,' अर्यालले भने।
उनले अभिव्यक्ति दिँदा जिम्मेवारीबाेध गर्न सबैलाई आग्रह गर्दै भने, 'हाम्रा छोराछोरीले हाम्रो कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो, एकले अर्कालाई दोषारोपण गर्ने, सहीलाई सही र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा ब्याख्या गर्दै जाने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। यसैले आफ्ना अभिव्यक्तिहरूलाई दिइरहँदा यसतर्फ पनि सबैको जिम्मेवारीबोध हुनुपर्दछ भन्ने म ठान्छु।'
गृहमन्त्री अर्यालले शान्ति र अहिंसाकाे सन्देश दिन प्रदेश स्तरीय सुरक्षा गाेष्ठीकाे सुरूआत लुम्बिनीबाट गरिएको बताए।
गाेष्ठीबाट प्रदेश सरकारले सुदृढ सुरक्षा याेजना बनाउने अपेक्षा लिएको उनकाे भनाइ छ।
गृहमन्त्री अर्यालले लुम्बिनी प्रदेश राजस्व चुहावटकाे दृष्टिले जाेखिममा रहेको उल्लेख गर्दै सुशासनको जगमा बनेको यो सरकार चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनकाे दाबी छ।
'कसैलाई गलत तबर रिझाउनुपर्ने अवस्था छैन, व्यावसायिक ढंगले कार्य सम्पादन गर्दा पुग्छ। त्यसैले यस गोष्ठीसँगै राजस्व चुहावट नियन्त्रणमा सरकारी संयन्त्रको संलग्नताका केही कमजोरीहरू बाँकी छन् भने ती अन्त्य हुनुपर्दछ,' गृहमन्त्रीले भने।