नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिका लागि रूपन्देहीबाट १६४ जनाको उम्मेदवारी परेको छ।
एमाले जिल्ला प्रचार विभागका प्रमुख मीन प्रसाद पौडेलका अनुसार रूपन्देहीबाट छनोट हुने ३४ जना प्रतिनिधिका लागि १६४ जनाको उम्मेदवारी परेको हो।
जसमा सबैभन्दा बढी क्षेत्र नं. २ बाट ४८ जनाको उम्मेदवारी परेको छ।
महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. २ बाट जम्मा १० जना प्रतिनिधि छनोट हुनेछन्। ६ जना खुला सदस्यका लागि २६ जना, ३ जना महिलाका लागि १३ जना र एक जना युवाका लागि ९ जनाको उम्मेदवारी परेको छ।
कुल ६ जना प्रतिनिधि छनोट गर्नुपर्ने क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेदवारी परेको छ।
प्रचार विभाग प्रमुख पौडेलका अनुसार ३ जना खुल्ला प्रतिनिधिका लागि २३, २ जना महिलाका लागि १० र एक जना युवाका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।
क्षेत्र नम्बर १ मा ३६ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं. १ बाट जम्मा ६ जना महाधिवेशन प्रतिनिधि छनोट हुने छन्। जसमध्ये खुल्ला ३ जनाका लागि २४, महिला २ जनाको लागि ७ र युवा एक जनाको लागि ५ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै क्षेत्र नं. ४ मा ४ जना प्रतिनिधिको लागि १० जनाको उम्मेदवारी परेको हो। क्षेत्र नम्बर ४ मा एक जना महिला प्रतिनिधि सर्वसम्मत रूपमा छनोट भए पनि खुल्ला र युवा प्रतिनिधिका लागि भने सहमति जुट्न सकेन।
क्षेत्र नं. ५ मा पनि ६ जना प्रतिनिधिका लागि ३३ जनाको उम्मेदवारी परेको छ। प्रचार विभाग प्रमुख पौडेलका अनुसार खुल्ला ३ जना प्रतिनिधिका लागि २१, महिला २ जनाको लागि १० र एउटा युवा प्रतिनिधिका लागि २ जनाले उम्मेदवारी दिएका छन्।
प्रचार विभाग प्रमुख पौडेलले छनोट हुने प्रतिनिधि सङ्ख्या भन्दा झन्डै ५ गुणा बढीको उम्मेदवारी परे पनि शुक्रबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भएकोले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्ने प्रयास भइरहेको बताए।
उम्मेदवारहरूका बीचमा सहमति नजुटे शनिबार बिहान ८ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको रूपन्देही क्षेत्र नं. २ का संयोजक ऋषिराम पाण्डेले जानकारी दिए।