नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेभित्र रहेका इमानदार वामपन्थीहरूसँग पनि एकताका लागि छलफल भइरहेको बताएका छन्।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेका इमानदार र क्रान्तिकारी नेताहरूलाई पार्टीमा ल्याउने विषयमा आफू र सह-संयोजक माधव नेपालबीच छलफल हुने गरेको बताएका हुन्।
‘त्यहाँ छन् अरू वामपन्थीहरू। हजारौं देशभक्तहरू छन्। उकुसमुकुस भएका देखेका छौं। हामी उहाँहरूसँग छलफलमा छौं। हामी तपाईंहरूसँग हातेमालो गर्न चाहेका छौं,’ प्रचण्डले भने।
उनले एमालेभित्रका सच्चा वामपन्थीहरूलाई समीक्षा गर्न पनि आग्रह गरे।
‘एकता त गरेका हौं तर नेतृत्व गलत मान्छेको हातमा पर्दा के के भोग्नुपर्ने रहेछ। समय आएको छ,’ उनले भने।
एमालेभित्र यसबारे आवाज उठ्न थालिसकेको पनि उनले बताए।
‘त्यहाँभित्रका देशभक्त इमानदार क्रान्तिकारी साथीहरूले सत्यको पक्षमा आवाज उठाउन थालिसक्नुभएको छ। त्यो आवाज दब्ने छैन। दिन प्रतिदिन बढ्ने छ बृहत वामपन्थी एकतामा पुगेर मात्रै त्यसले विश्राम लिनेछ,’ उनले भने।
संयोजक प्रचण्डले राष्ट्र संकटमा रहेको बताउँदै कम्युनिस्टले मात्रै बचाउन सक्छ भन्ने अवस्था नरहेको बताए।
त्यसकारण नेपाली कांग्रेस लगायत लोकतान्त्रिक पार्टीहरूसँग पनि सहकार्य गर्नुपर्ने उनको भनाइ छ।
‘लोकतन्त्रवादी, शान्ति र संविधानको पक्षमा उभिएका अन्य राजनीतिक शक्ति मुख्यतः नेपाली कांग्रेससँग पनि हामीले सहकार्य गर्नुपर्नेछ,’ उनले भने, ‘उहाँलाई पनि मोर्चामा सामेल गर्ने ढंगले ठूलो छातीका साथ अघि बढेर मात्रै राष्ट्र जोगाउन सकिन्छ। हामीले एउटा नयाँ समाजवादको आधार तयार पार्न सकिन्छ,’ उनले भने।