प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा निर्वाचनको विषयसँग जोडेर छलफल भएको एमालेका निवर्तमा प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘प्रधानमन्त्रीले निर्वाचनको विषयसँग जोडेर विषयवस्तु राख्नुभयो। निर्वाचन अगाडि बढाउन संस्थागत सहयोग होस्, साथ होस् भन्नुभयो,’ उनले भने।
यससँग जोडिएर एमालेले दुई तीन वटा कुरामा जोड दिएको बताए।
‘पहिलो, अहिलेको सरकारकै निर्माण गठनको सन्दर्भमा केही संवैधानिक प्रश्नहरू छ, त्यसको परीक्षणको प्रक्रिया चलिरहेको छ। अदालतले हामी सहित धेरै रिटहरू पनि परेको छ। यसको संवैधानिक परीक्षण हुने कुरा पहिला टुंगियोस्,’ उनले भने।
दोस्रो त्यसपश्चात् निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने सँगसँगै आउने उनले बताए।
‘हामीले चुनावको निष्पक्षता र निर्भयताको वातावरण होस् भन्ने चाहेका छौं। सरकारको जे अहिलेसम्म तयारी, क्रियाकलाप देखिएको छ, त्यसमा हामी विश्वस्त हुन सकेनौं,’ उनले भने, ‘यसले चुनाव हुने वातावरण बनाएको छैन। निर्वाचनको अनिवार्य सर्तका रूपमा जोडिएको शान्तिपूर्ण वातावरणको पाटो हो, भयरहित ढंगबाट जनताका बीचमा जान सक्ने अवस्था छैन। मतदाताहरूको विवकेको मत व्यक्त गर्नसक्ने सहज स्थिति देखापरेको छैन।’
पूर्वप्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको सन्दर्भमा पनि एमालेले प्रश्न उठाएको थियो। यसले प्रहरीको मनोबल खस्किएको उनीहरूको बुझाइ थियो।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्रीले एमालेले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको भन्दै खुसी व्यक्त गरेकी थिइन्।
‘तपाईंहरूले दल दर्ता गर्नुभएछ, खुसी लाग्यो। सबै मिलेर चुनावको वातावरण बनाऔं, मुलुकलाई थप अप्ठ्यारोबाट जोगाऔं। हामी सबैले आआफ्नो मूल्यांकन पनि गरौं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने।
छलफलमा प्रधानमन्त्री कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहमभागी थिए। एमालेबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी थिए।
त्यस्तै प्रधानमन्त्रीका प्रेस संयोजक राम रावल पनि सहभागी थिए।
निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले अन्य दलहरूसँग छलफल गरिरहेका छन्। केही दिनअघि नेपाली कांग्रेसका केही नेताहरूसँग छलफल गरेकी थिइन्।