मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नियुक्त गरिएको रिटको विवादमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ भइरहेको छ।
न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। बिहीबारदेखि उक्त इजलासमा सुनुवाइ सुरू भएको थियो। अन्तिम सुनुवाइका लागि पेस भएको रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार पनि सुनुवाइ गर्न थालेको हो।
मधेस प्रदेश सरकार गठनका विषयमा तीन वटा छुट्टाछुट्टै रिट पेस भएका थिए। यी तीनै वटा रिटमाथि एक साथ सुनुवाइ भइरहेको छ।
संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको सम्भावना हुँदाहुँदै धारा १६२ (३) अनुसार गठन प्रक्रिया अघि बढेको थियो। त्यसअनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका यादवलाई मुख्यन्त्रीलाई नियुक्ति दिएकी थिइन्।
त्यस्तै उनले कात्तिक २४ गते झिसमिसेमै महोत्तरीको बर्दिबासमा रहेको पानस होटलमा मुख्यमन्त्री यादवलाई शपथ ग्रहण समेत गराएकी थिइन्। त्यसपछि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पनि पदमुक्त गरेका थिए।
यसरी नियुक्ति दिएपछि मधेस प्रदेशका सांसदहरू नै आन्दोलनमा उत्रिएका थिए। सर्वोच्च अदालतमा पुगेपछि मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै यसको अन्तिम किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।