रूसले आफूले दाबी गरेको क्षेत्रबाट युक्रेनी सेना फिर्ता भएमात्रै आक्रमण रोक्ने बताएको छ।
अमेरिकाले शान्ति योजना कार्यान्वयनका गर्न भरमग्दुधर प्रयास गरिरहेको समयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले कब्जा गरेको भूभागबाट युक्रेनी सेना हटेमात्रै आक्रमण रोक्ने बताएका हुन्।
अन्यथा आक्रमण नरोकिने बरू तीव्र बनाउने रूसले चेतावनी दिएको छ।
'यदि युक्रेनी सेनाले आफ्नो कब्जामा रहेको क्षेत्र छोडे भने हामी युद्ध अभियान रोक्नेछौं,’ पुटिनले किर्गिस्तानको भ्रमणका क्रममा भने, 'यदि उनीहरूले त्यसो गरेनन् भने, हामी यसलाई सैन्य माध्यमबाट प्राप्त गर्नेछौँ।'
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गर्दै आएका छन्।
झण्डै एक दशकदेखि लगातार आक्रमण गरे पनि पुटिनले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन। लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।
लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको १० प्रतिशत भन्दा बढी भाग युक्रेनकै नियन्त्रणमा छ।
त्यहाँ युक्रेनले वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएकाले रूसले युद्ध गरेर लिन निकै मुश्किल हुने मानिन्छ।
सो भूभाग रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गरे रोक्न नसकिने भएकाले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएको छ।
पुटिनले भने ती क्षेत्रबाट युक्रेनी सेनालाई हट्न भनेको हो।
युक्रेनले आफ्नो भूभाग गुमाउनुपर्ने प्रस्ताव ट्रम्पले तयार गरेको शान्ति योजनामा पनि थियो। त्यसमा युरोपेली नेताहरुले कडा आपत्ति जनाएपछि अमेरिका र युक्रेनले जेनेभामा छलफल गरी १९ बुँदे नयाँ सहमति बनाएका छन्।
त्यसमा भने भूभागको सन्दर्भमा युक्रेन र युरोपले सहमति गर्ने सक्नेगरी प्रस्ताव राखिएको भनिएको छ।
शान्ति योजनामा रूसलाई पनि मनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व हेर्ने आफ्ना दूत स्टिभि विटकोफलाई मस्को पठाउँदैछन्।