नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीहरू गगन थापा तथा विश्वप्रकाश शर्मासँग आज पनि छलफल गर्न लागेका छन्।
सभापति देउवाले बिहीबार साँझ पनि उनीहरूसँग छलफल गरेका थिए।
शुक्रबार दिउँसो १ बजे पुन: छलफलमा जुट्ने उनीहरूबीच समझदारी बनेअनुसार आज पनि छलफल हुन लागेको हो।
साथै छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतलाई पनि बोलाइएको नेताहरूले जनाएका छन्।
‘सभापतिज्यूले छलफलमा बोलाउनुभएको छ,’ पूर्वउपसभापति निधिले सेतोपाटीसँग भने, ‘म सभापति निवास जाँदैछु।’
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्नेमा विवाद छ।
पुसभित्रै नियमित महाधिवेशन हुन नसकेको खण्डमा विशेष महाधिवेशनको विकल्प नरहेको महामन्त्री थापा र शर्माले अडान राखेका छन् भने सभापति देउवा पक्षका कतिपय पदाधिकारी र पूर्वपदाधिकारी वैशाखमा मात्रै महाधिवेशनका पक्षमा छन्।
महाधिवेशनलाई लिएर विवाद भएपछि मिलाउन सभापति देउवाले आफूनिकट र महामन्त्रीहरूसँग संवाद थालेका हुन्।
कार्यवाहक सभापति खड्काले सहमति नबनेसम्म केन्द्रीय समिति बैठक सारिराख्ने बताएका छन्। गत असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भए पनि महाधिवेशन कार्यतालिकामा सहमति भएको छैन।
कात्तिक १८ गते महामन्त्री थापाले केन्द्रीय समितिमा पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशनको कार्यतालिका पेस गरेका थिए। सोही दिन सहमहामन्त्री महेन्द्र यादवले पनि वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने भन्दै कार्यतालिका नै पेस गरेका थिए। दुवै प्रस्ताव व्यक्तिगत भएको कार्यवाहक सभापति खड्काको भनाइ थियो।
कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन लामो समयदेखि नेताहरूसँग अनौपचारिक रूपमा छलफल गर्दै आएका छन् तर सहमति जुट्न सकेको छैन। सभापति देउवाले पनि महाधिवेशनबारे विवाद मिलाउन नेताहरूसँग छलफल सुरू गरेका हुन्।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते नै हस्ताक्षर बुझाएका थिए। विधानअनुसार ३ महिनाभित्र (पुस २९) भित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। त्यसअघि नै नियमित महाधिवेशन गरी विशेष महाधिवेशनको माग सम्बोधन गर्न पछिल्लो समय नेताहरूले प्रयास गरिरहेका छन्।
तर विशेष महाधिवेशन पक्षधरले यो कार्यसमितिको म्याद थप नगरी नियमित महाधिवेशन गरे मान्य हुने नत्र पुस २८ भित्र विशेष महाधिवेशन गर्न माग गरिरहेका छन्।