नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्।
सभापति देउवा निवास महाराजगञ्ज पुगेर कोइराला र रिजालले पार्टीका आन्तरिक विषयमा कुराकानी गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएका हुन्।
साथै केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा नेता कोइराला र रिजाल सभापति देउवाकहाँ गएको नेता कोइरालाको सचिवालयले जनाएको छ।
भेटमा कोइरालाले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पुगेको र यसले पार्टीभित्र जटिल समस्या सिर्जना गरेको सभापति देउवालाई बताएका थिए।
कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन आग्रह गरेका थिए।
अनुशासन कारबाहीका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने बताएका थिए।
सुदूरपश्चिमका विभिन्न जिल्लामा नम्बर बिनाका क्रियाशील सदस्यता फारम पुगेपछि विवाद भएको थियो।